कांग्रेस महाधिवेशन : पदाधिकारी र केन्द्रीय सदस्यमा गरी ८१८ जनाको उम्मेदवारी
नेपाली कांग्रेसको राजधानीमा जारी १५औँ महाधिवेशनमा सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यमा गरी ८१८ जनाको उम्मेदवारी परेको छ । मंगलबार भएकाे मनाेनयन प्रक्रियामा पदाधिकारीतर्फ ७९ र केन्द्रीय सदस्यतर्फ ७३९ जनाले उम्मेदवारी दिएका छन् ।
सभापतिमा ३, वरिष्ठ उपसभापतिमा १, उपसभापतिमा १५, महामन्त्रीमा ११ र सहमहामन्त्रीमा ४९ जनाको उम्मेदवारी परेको छ ।
केन्द्रीय सदस्यतर्फ खुला ९२, महिला खुला ३१, आदिवासी जनजाति ७६, दलित ५४, मधेशी ४२, खसआर्य ६८, थारू १७, मुस्लिम २३ र पिछडिएको क्षेत्रबाट ८ जनाले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, अल्पसंख्यक तथा अपांगता समूहमा १९, प्रदेशगत समूहमा १९४, नेपाली जनसम्पर्क समितिबाट ३६, श्रमिकबाट ९, पेशागत तथा विषयगत क्षेत्रबाट ४४ र काठमाडौं उपत्यकाबाट ६ जनाको उम्मेदवारी परेको छ । प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्व प्रभावित परिवारका तर्फबाट १८ जनाले उम्मेदवारी दिएका छन् ।
महाधिवेशनमा ३५ वर्षमुनिका युवाका लागि छुट्याइएका केन्द्रीय सदस्य पदमा मात्रै ९१ जनाको उम्मेदवारी परेको छ ।



