चीनमा गुञ्जियो लमजुङको कला र संस्कृति, दाेर्दीले जाेड्याे भगिनी सम्बन्ध

मूलखबर संवाददाता
काठमाडौं

लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीसहित नेपाली कलाकारले चीनको युनान प्रान्तस्थित फुगोंग काउन्टीमा आयोजित सांस्कृतिक कार्यक्रममा देउसी–भैलो र कौरा नृत्य प्रस्तुत गरेका छन्।
‘लेट द वल्र्ड हियर नुजियाङ’ सांस्कृतिक आदानप्रदान कार्यक्रममा नेपाली कलाकारले मौलिक पोसाक र परम्परागत नृत्यमार्फत लमजुङको कला, संस्कृति र पहिचान चीनमा प्रस्तुत गरेका हुन्।
फुगोंग काउन्टी र दोर्दी गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएपछि पर्यटन, संस्कृति, कृषि, शिक्षा तथा युवा आदानप्रदानका क्षेत्रमा सहकार्य हुँदै आएको छ। कार्यक्रममा अध्यक्ष अधिकारीले दुई क्षेत्रबीचको सम्बन्ध र सहकार्य थप विस्तार गर्नुपर्ने बताउनु भयो । फुगोंगको शियुएलियाङ स्क्वायरमा आयोजित कार्यक्रममा लमजुङको दोर्दी गाउँपालिकाका अध्यक्ष युबराज अधिकारीसहित नेपाली कलाकार तथा चीनका विभिन्न सांगीतिक समूह र कलाकार सहभागी थिए । टोलीमा गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घले, वडा नं. ९ का अध्यक्ष आशिष तामाङ, फलेनी माध्यमिक विद्यालय हिलेबजारका प्रधानाध्यापक केदार बोहरा र अमरज्योति माध्यमिक विद्यालयका शिक्षक जोगमाया गुरुङ सहभागी हुनु भएको थियो।
कार्यक्रममा अध्यक्ष अधिकारीले दोर्दी गाउँपालिकाको तर्फबाट शुभकामना मन्तव्यसहितको सन्देश प्रस्तुत गर्दै फुगोंग काउन्टीसँगको सम्बन्ध र सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा व्यक्त गर्नु भयो । उहाँले पर्यटन, संस्कृति, कृषि, शिक्षा तथा युवाबीचको आदानप्रदानलगायत क्षेत्रमा दुई पक्षबीच सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली कलाकारले देउसी–भैलो र कौरा नृत्य प्रस्तुत गरेका थिए । नेपाली मौलिक पोसाकमा प्रस्तुत गरिएको नृत्यले स्थानीय दर्शक तथा कार्यक्रममा सहभागी पर्यटकको ध्यान खिचेको थियो । नेपाली कलाकारको प्रस्तुतिपछि स्थानीय दर्शकले ताली र उत्साहका साथ स्वागत गरेका थिए ।
फुगोंग काउन्टी र दोर्दी गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएपछि सांस्कृतिक तथा मैत्रीपूर्ण आदानप्रदानका कार्यक्रम अघि बढिरहेका छन् । दुई स्थानीय तहबीच पर्यटन, संस्कृति, कृषि, शिक्षा र युवा आदानप्रदानलगायत क्षेत्रमा सहकार्य गर्ने विषयमा यसअघि पनि छलफल भएको थियो ।