कांग्रेसमा उपसभापति र सहमहामन्त्रीसहित पदाधिकारी संख्या बढाउने प्रस्ताव
१५ औं महाधिवेशनको संघारमा रहेकाे नेपाली कांग्रेसले पार्टीका केन्द्रीय पदाधिकारीको संख्या बढाउने प्रस्ताव अघि सारेको छ। विधान संशोधन मस्यौदा समितिमा नेता व्यवस्थापन गर्न पदाधिकारी संख्या बढाउने विषयमा छलफल चलिरहेको एक पदाधिकारीले जानकारी दिए।
हाल कांग्रेसको विधानअनुसार केन्द्रीय पदाधिकारीको संख्या १७ रहेको छ। महिला र युवालाई पदाधिकारी संरचनामा थप स्थान दिने गरी अब उपसभापति र सहमहामन्त्रीको संख्या बढाउने प्रस्तावमा छलफल भइरहेको छ।
प्रस्तावमा एक वा दुई जना उपसभापति थप्ने विषय समेटिएको छ। थपिने उपसभापतिमध्ये कम्तीमा एक पद महिलाका लागि सुनिश्चित गर्ने प्रस्ताव अघि सारिएको छ।
तीन जना सहमहामन्त्री थप्ने प्रस्ताव छ। प्रस्तावअनुसार थपिने सहमहामन्त्रीमध्ये एक जना खुलाबाट, एक जना ३५ वर्षमुनिका युवाबाट र एक जना विशेष विज्ञका रूपमा ‘ल्याटरल इन्ट्री’बाट ल्याउने विषयमा छलफल भइरहेको छ।
हाल कांग्रेसमा विभिन्न आठ क्लस्टरबाट आठ जना सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ। विशेष महाधिवेशनबाट थप तीन सहमहामन्त्री मनोनयन गर्ने व्यवस्था भएपछि सहमहामन्त्रीको संख्या ११ पुगेको थियो।
नयाँ प्रस्ताव कार्यान्वयन भए सहमहामन्त्रीको संख्या १४ पुग्नेछ।



