भाेटेकाेशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै
रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीले विभिन्न जलविद्युत् आयोजनामा क्षति पुग्दा ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बाहिर गएपछि सरकार वैकल्पिक व्यवस्थापनमा जुटेको छ ।
बाढीले त्रिशूली करिडोरबाट काठमाडौँको बालाजु र चपलीमा आउने विद्युत् रोकिएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वैकल्पिक व्यवस्थानको गृहकार्य अगाडि बढाएको हो ।
भोटेकोशी बाढीले त्रिशूली करिडोरबाट आउने विद्युत् अवरुद्ध भएपछि बालाजु र चपली प्रसारण लाइनमा चाप परेको छ । यसमा वैकल्पिक आपूर्ति प्रणाली विकास गर्न मन्त्रालयले गृहकार्य अगाडि बढाएको मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यले बताउनुभयो । उहाँका अनुसार नेपाल विद्युत् प्राधिकरणले ‘टास्क फोर्स’ बनाएरै काम गरिरहेको छ ।
मन्त्रालयले मङ्गलबार सडक विभाग र काठमाडौँ महानगरपालिकासँग थप भूमिगत ग्रिड निर्माणका लागि छलफल गरेको छ । प्राधिकरणले हिउँदको वैकल्पिक व्यवस्थापनका लागि थप भूमिगत ग्रिड निर्माण अगाडि बढाएको छ ।
कतिपय ठाउँमा भूमिगत वैकल्पिक विद्युत् ग्रिडको विश्वसनीयताका लागि र थप भूमिगत ग्रिड निर्माण गर्नका निम्ति सडक विभाग र काठमाडौँ महानगरपालिकासँग निश्चित तालिकासहित हिउँदको विद्युत् व्यवस्थापनको सहकार्य लागि छलफल गरिएको प्रवक्ता शाक्यले बताउनुभयो ।



