बाढीमा बेपत्ता भएका व्यक्तिमध्ये ७५२ जनाको शव फेला

मूलखबर संवाददाता
काठमाडौं, १४ भदौ

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिमध्ये ७५२ जनाको शव फेला परेको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउँसो १ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार बाढीमा बेपत्ता भएकामध्ये ७५२ जनाको शव फेला परेको हो।

प्राधिकरणका अनुसार रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा १००, तनहुँमा ३६ र चितवनमा २५९ जनाको शव फेला परेको छ।

यस्तै, बाढी तथा विपतमा परेका आठ हजार ७३० जनाको हालसम्म उद्धार गरिएको प्राधिकरणले जनाएको छ। अझै दुई हजार ५०२ जना सम्पर्कविहीन रहेको बुलेटिनमा उल्लेख छ। प्राधिकरणका अनुसार सम्पर्कविहीनहरूको खोजी तथा उद्धार कार्य जारी छ।