चीनतर्फ बनेकाे नयाँ ताल फुटेकाे खबर, अर्को जोखिमकाे सम्भावना, सचेत रहन अपिल

मूलखबर संवाददाता
काठमाडौं, १२ भदाै

चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले नेपाली सेनाले भरखरै यसबारे आफूलाई जानकारी गराएको बताए ।

छोचेन खोला र पुरेपू त्साङ्पो नदीको दोभाननजिकै ठूलो जलाशययुक्त ताल (ब्यारियर लेक) बनेको चीनको जलस्रोत मन्त्रालयले  हिजो जनाएको थियो ।

चीनतर्फ बाढीका कारण बनेको ताल फुट्न थालेको सूचना आएपछि रसुवाको भोटेकोशी र आसपासका क्षेत्रमा थप जोखिमको आकलन गर्न हेलिकोप्टरबाट रेकी (हवाई निरीक्षण) गर्ने तयारी गरिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) का एक अधिकारीका अनुसार धुन्चे र रसुवाका विभिन्न स्थानमा यसअघि नै रहेका हेलिकोप्टरलाई रेकीका लागि परिचालन गरिने भएको छ ।

यसअघि बिहीबार नेपाली सेनाको ११ बाहिनीका कर्णेलको नेतृत्वमा आरसीसी सञ्चालन गरिएको थियो। बाढी आएको बुधबार बिहान गृह मन्त्रालयका उपसचिवले आरसीसीको समन्वय सम्हालेका थिए भने बुधबार साँझदेखि गृह मन्त्रालयका सहसचिवले त्यसको जिम्मेवारी लिएका थिए। आरसीसीमा हेलिकोप्टर सञ्चालक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र मौसमसम्बन्धी निकायका प्रतिनिधि रहने व्यवस्था छ। विपद्का बेला विशेषगरी हवाई उद्धार तथा राहत उडानको समन्वयमा आरसीसी सक्रिय हुने गरेको छ