संसदमा सबै सांसदकाे एकै स्वर : बलत्कार र हत्या किन बढिरहेको छ ? मृत्युुदण्डकाे व्यवस्था गराैं
आजको प्रतिनिधिसभा बैठकमा शून्य समयमा ५० जना र विशेष समयमा २२ जना सांसद बोले । सबैले एउटै विषय उठाए– नेपाली समाजमा किन बलात्कार जस्तो जघन्य अपराधका घटना भइरहेका छन् ?
सोमबार प्रतिनिधिसभामा जुनकुनै समयमा बोल्ने सबै सांसदले एउटै कुरा उठाए, बलात्कारविरुद्धको कानुन पर्याप्त छैन । यस्तो अपराध गर्ने सोच मानिसमा आउनै नसक्ने गरी कानुन बनाइनुपर्छ ।
नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको निन्दा गरिन् । यस घटनाको प्रभावकारी अनुसन्धान गर्न, दोषीमाथि छिटो कारबाही गर्न र गरिमाको परिवारलाई न्याय दिलाउन आग्रह गरिन् ।
बाराको जितपुरसिमरा–१ की तीन वर्षीया गरिमा चौधरी साउन ३१ गते घरबाट हराएकी थिइन् । खोजी गर्ने क्रममा उनको शव घरबाट करिब २०० मिटर टाढा सुनसान घरमा फेला परेको थियो । प्रारम्भिक अनुसन्धानमा उनको बलात्कारपछि हत्या भएको खुलेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।



