गण्डकी प्रदेशसभा : गाँजा खेतीसम्बन्धी विधेयक पुनः सर्वसम्मत पारित

मूलखबर संवाददाता
पाेखरा, १५ साउन

गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई सर्वसम्मत रुपमा पुनः पारित गरेको छ ।

यसअघि गत असार २५ गते प्रदेशसभा बैठकबाट पारित उक्त विधेयकलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण नगरी गत शुक्रबार सन्देशसहित पुर्नविचारका लागि प्रदेशसभामा फिर्ता पठाउनुभएको थियो ।

आजको बैठकमा उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले उक्त विधेयकमाथि पुर्नविचार गरियोस् भन्ने प्रस्ताव प्रदेशसभामा पेश गर्नुभएको थियो । प्रदेशसभा सदस्य प्रकाश बराल, देवका पहाडी त्रिपाठी, हरिबहादुर भण्डारी, फणिन्द्र देवकोटालगायतले उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएको थियो । प्रदेशसभा सदस्यहरुले प्रदेशसभाले आफ्नो स्वतन्त्र विधायकी अधिकार प्रयोग गरेर गरेर विधेयक निर्माण गरेको बताउनुभएको थियो ।

पुरानो सङ्घीय कानुनको व्यवस्था देखाएर विसं २०७२ को संविधान अनुसार गठित प्रदेश सरकारले बनाएका कानुन रोक्न नहुनेमा उहाँहरुको जोड थियो । मौजुदा विधेयकमाथिको छलफलपछि मन्त्री रिमालले उक्त विधेयकलाई प्रस्तुत रुपमै पारित गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो ।

सभामुख कृष्णप्रसाद धितालले बैठकमा निर्णयर्था पेश भएको उक्त प्रस्ताव सर्वसम्मतीले स्वीकृत भएको घोषणा गर्नुभएको थियो । उक्त विधेयकलाई प्रमाणीकरणका लागि पुनः प्रदेश प्रमुखको कार्यालयमा पठाइने प्रदेशसभा सचिवालयले जनाएको छ ।