नेपालमा दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द

मूलखबर संवाददाता
काठमाडौं, ८ साउन ।

नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द गरेको जनाएको छ ।

सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो । कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो ।

सोही निर्णयअनुसार त्यसबेला नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए । तर, ती वेबसाइट बन्द भए पनि नयाँ नाम र नयाँ ठेगानामा फेरि सञ्चालनमा आउने क्रम भने रोकिएको थिएन ।

प्राधिकरणका अनुसार यो वर्षको फिफा विश्वकप सुरु भएयता मात्रै दुई लाख २३ हजार ५६८ वटा यस्ता एप र वेबसाइट बन्द गरिएका छन् ।