कांग्रेसले बनायाे ‘छाया सरकार’, भीष्मराज आङ्देम्बे ‘प्रधानमन्त्री’, अरू मन्त्री काे काे ?
प्रमुख प्रतिपक्षी दल कांग्रेसले ‘छाया सरकार’ बनाएको छ । सरकारको कामकारबाहीको निगरानी गर्ने र संसदीय कामकारबाहीलाई प्रभावकारी बनाउने भन्दै सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी तोकेको हो ।
संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई ‘छाया प्रधानमन्त्री’ तोकेको कांग्रेसले बाँकी १७ वटै मन्त्रालयमा छायामन्त्री बनाएको छ । आङ्देम्बेले नै छाया सरकारमा सांसदहरूलाई जिम्मेवारी दिएका हुन् ।
प्रकाशसिंह कार्की गृह, नरेन्द्रकुमार केरुङ अर्थ, सुनीलबहादुर थापा परराष्ट्र, मोहन आचार्य पूर्वाधार विकास र डा. फिर्दोष आलम शिक्षा तथा खेलकुद मन्त्रालयका छायामन्त्री तोकिएका छन् । त्यस्तै, डा. चन्द्रमोहन यादव स्वास्थ्य तथा खाद्य स्वच्छता, विष्णुबहादुर खड्का उद्योग, वाणिज्य तथा आपूर्ति, डा. प्रमिलाकुमारी गच्छदार कृषि, वन तथा पर्यावरण, खम्मबहादुर खाती कानुन, न्याय तथा संसदीय, खड्ग शाही रक्षा र मनमाया विश्वकर्माले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसबाहेक गीता गुरुङलाई युवा, श्रम तथा रोजगार, सन्दीप रानालाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन, सन्तोष सुब्बालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, गंगालक्ष्मी अवाललाई महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा, जनकराज गिरीलाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र योगेश गौचनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।




