नेता कार्यकर्तालाई निराश नहुन माधव नेपालकाे आग्रह

मूलखबर संवाददाता
काठमाडौं, १६ जेठ

नेपाल कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामबारे शङ्का व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल महिला सङ्गठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले निर्वाचन प्रक्रिया निष्पक्ष भएको विषयमा प्रश्न उठाए।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा हासिल गरेको दुई तिहाइनजिकको सिटलाई अस्थायी ‘सुनामी’ को संज्ञा दिँदै त्यसको पृष्ठभूमिबारे खोजी भइरहेको बताए।

सम्बोधनका क्रममा उनले निर्वाचन अवधिमा नेपाली सेना, सरकार, निर्वाचन आयोग तथा मतपत्र व्यवस्थापनको भूमिकालाई लिएर विभिन्न प्रश्न उठिरहेको उल्लेख गरे। पार्टीभित्रकै केही व्यक्तिहरूले समेत कतिपय तथ्य बाहिर ल्याउने चेतावनी दिइरहेको भन्दै उनले भविष्यमा ती विषय स्पष्ट हुँदै जाने विश्वास व्यक्त गरे।

पूर्वप्रधानमन्त्री नेपालले नेपालको लोकतान्त्रिक आन्दोलन र अधिकार स्थापनामा आफ्नो पार्टीको योगदानबारे पनि चर्चा गरे। २०४७ सालको संविधान निर्माणदेखि महिला तथा दलितको प्रतिनिधित्व सुनिश्चित गर्न आफूहरूले निरन्तर पहल गरेको उनको भनाइ थियो।

उनले संविधानसभामार्फत संविधान जारी हुँदा विभिन्न संवैधानिक र राजनीतिक संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिएको उल्लेख गरे। राष्ट्रपतिदेखि सभामुखसम्मका उच्च पदहरूमध्ये कम्तीमा एक पदमा महिलाको उपस्थिति अनिवार्य बनाइएको विषयलाई उनले आफ्नो राजनीतिक अभियानको उपलब्धिका रूपमा प्रस्तुत गरे।

निर्वाचनको पछिल्लो परिणामका कारण पार्टीका नेता–कार्यकर्ता रक्षात्मक बनेको महसुस भए पनि निराश नहुन उनले आग्रह गरे। हालको अवस्था अस्थायी लहर मात्र भएको भन्दै संगठनलाई दृढतापूर्वक अघि बढाउन उनले आह्वान गरे।