आज १९ औँ गणतन्त्र दिवस मनाइँदै, कसरी आएकाे थियाे गणतन्त्र ?
आज जेठ १५ का दिन नेपालभर विभिन्न कार्यक्रमका साथ १९औँ गणतन्त्र दिवस मनाइँदै छ। विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकले २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ।
गणतन्त्र दिवसका अवसरमा राजधानी काठमाडौंसहित देशभर सरकारी, सामाजिक तथा राजनीतिक तहबाट विविध कार्यक्रम आयोजना गरिएका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा विभिन्न सांस्कृतिक समूहहरूको सहभागितामा विशेष समारोह सम्पन्न हुँदैछ। सरकारी भवन, सार्वजनिक स्थल तथा विभिन्न संघसंस्थामा राष्ट्रिय झण्डा सजाएर उत्सवमय वातावरण सिर्जना गरिएको छ।
नेपालमा गणतन्त्र लामो राजनीतिक संघर्ष, जनआन्दोलन र जनताको बलिदानपछि स्थापित भएको हो। वि.सं. २०५२ सालदेखि सुरु भएको जनयुद्द, २०६२/६३ सालको दोस्रो जनआन्दोलन तथा सात राजनीतिक दल र तत्कालीन नेकपा (माओवादी) बीचको सहकार्यले निरंकुश राजतन्त्र अन्त्य गर्ने वातावरण तयार भएको थियो। जनआन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले सत्ता जनतालाई फिर्ता गर्न बाध्य भएका थिए। त्यसपछि सम्पन्न संविधानसभा निर्वाचनमार्फत जनप्रतिनिधिहरू निर्वाचित भए र पहिलो संविधानसभाको बैठकले नेपाललाई गणतान्त्रिक मुलुक घोषणा गरेको थियो।
गणतन्त्र स्थापनापछि नेपालमा संघीयता, समावेशिता, धर्मनिरपेक्षता तथा जनअधिकारका विषय संस्थागत भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्यको आवश्यकता औँल्याउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा समुन्समाज निर्माण गर्न आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा हार्दिक आह्वान गर्दछु ।”




