एमालेमा पार्टीको नीति र नेतृत्व पुनर्गठनको माग, सचिवालय बैठकमा पहिलाेपटक वाद-विवाद
एमालेको चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठनको माग गरेका छन् । गुन्डु भक्तपुरमा जारी केन्द्रीय सचिवालय बैठकमा शुक्रबारको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघु पन्तले २१ फागुनको निर्वाचन परिणामले पार्टीको नीति र नेतृत्वको पुनगर्ठनको माग गरेको बताए ।
सचिवालय बैठकमा पहिलाेपटक वाद-विवाद भएकाे छ ।
उपाध्यक्ष रामबहादुर थापाले भने अहिलेको नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानु पर्ने धारणा राखेको एक नेताले बताए । ‘रामबहादुर थापाबाहेक अरु उपाध्यक्षले नेतृत्व र नीतिको समीक्षा गर्दै पुनर्गठनमा जोड दिनुभयो,’ ती नेताले भने, ‘अध्यक्ष केपी ओलीले उपाध्यक्षहरूको उठाएका प्रश्नको जवाफ दिँदै पनि जानुभयो । एक हिसाबले बैठकमा वाद-विवाद चल्यो ।’
बिहीबार दिउँसो १२ बजेदेखि सुरु भई ६ बजेसम्म चलेको बैठकमा ५ उपाध्यक्षले मात्र भनाइ राखेका थिए । उपाध्यक्षहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि ओलीले त्यसको जवाफ फर्काएका थिए । पार्टीको मूल नेतृत्वमाथि नै प्रश्न उठाएपछि ओली आक्रोशित भएको ती नेताले बताए ।
बैठकपछि उपमहासचिव लेखराज भट्टले ५ उपाध्यक्षले निर्वाचनको समीक्षा गरेको बताए । अध्यक्ष ओलीले उपाध्यक्षको भनाइमाथि थप धारणा राखेको बताए । ‘५ उपाध्यक्षले धारणा राख्नुभयो । अध्यक्षले बीचबीचमा सपोर्ट गर्नुभयो,’ उनले बैठकपछि भने ।
उपाध्यक्षहरूले आफ्नो धारणा ‘राम्रैसँग राखेको’ उनले बताए । ‘सायद यसरी लामो बैठक चलेको पहिलोचोटि होला । उपाध्यक्षहरूले खुलेर विचार प्रस्तुत गर्नुभएको छ,’ उनले भने ।
बैठकमा प्रस्ताव गरिएको नेताहरूको कार्यविभाजन संशोधन गर्न सुझाव आएको भट्टले बताए ।




