संसद गफ गर्ने अखडा हाेईन : नेकपा प्रमुख सचेतक दुलाल

मूलखबर संवाददाता
काठमाडौं, ४ जेठ

नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा प्रमुख सचेतक युवराज दुलालले संसद गफ गर्ने अखडा मात्रै नभएको बताएका छन् ।

संसदकाे बैठकमा  नियमावली मस्यौदामाथिको छलफलमा बोल्दै उनले भने, ‘संसदीय व्यवस्थामाथि धेरै टीकाटिप्पणीहरू छन्। यसलाई गफ गर्ने अखडाको रूपमा पनि आलोचना गरिन्छ। त्यस कारण यो गफ गर्ने अखडा होइन, यो काम गर्ने थलो हो र जनताका प्रतिनिधिहरूको मर्यादित स्थान हो र गौरव गर्न लायक स्थान हो भन्नका लागि स्थापित गर्नुपर्ने छ एकातिर भने अर्कोतिर यसको संसदीय सर्वोच्चतालाई कायम राख्न जसरी सामन्तहरू निरङ्कुश नहोउन् भनेर त्यति बेला राजाहरूसँग म्याग्नाकार्टा गरियो, आज पनि संसद्मा जनप्रतिनिधिहरूले उठाएका जनताका भावनाहरूलाई सम्बोधन गर्नका लागि सरकारलाई जबाफदेही बनाउन र जनताका समस्यामा काम हुने गरी संसद्लाई स्थापित गराउन सरकारलाई यो संसद्प्रति जबाफदेही बनाउने, प्रधानमन्त्री र मन्त्रीहरूलाई पनि संसद्प्रति उत्तरदायी बनाउने यो नियमावलीमा व्यवस्था हुनुपर्छ।’