ट्रम्प फर्किएलगत्तै चिन जाँदै रूसी राष्ट्रपति पुटिन

मूलखबर संवाददाता
काठमाडौं, ३ जेठ

अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प फर्किए लगत्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन जाने भएका छन्।

चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा दुई देशबीच आपसी सहयोग सम्झौताको २५ औं वर्षको अवसर पारेर पुटिन मंगलबार बेइजिङ प्रस्थान गर्न लागेको क्रेमलिनलाई उद्धृत गर्दै अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।

मंगलबारदेखि सुरू हुने दुई दिने भ्रमणमा राष्ट्रपति पुटिनले सीसँग प्रमुख मुद्दाहरूमा छलफल गर्नुहुनेछ,’ क्रेमलिनले भनेको छ।

ट्रम्प बेइजिङ जानुअघि नै पुटिनको चीन भ्रमणबारे कुराकानी भएको थियो। मितिमात्रै शनिबार तय भएको हो।

क्रेमलिनका प्रवक्ता दिमित्रि पेश्कोभले पुटिनको भ्रमण अमेरिकी राष्ट्रपतिको चीन भ्रमण र त्यसक्रममा आदान प्रदान भएका विचारहरु साझा गर्ने राम्रो अवसर हुने बताए।

भ्रमणमा अमेरिका–चीन व्यापार, ताइवान र सुरक्षा सम्बन्धी विषयमा छलफल भए पनि कुनै ठूलो घोषणा सार्वजनिक भएको छैन। पुटिनले यसअघि ट्रम्पको चीन भ्रमणबारे बोल्दै अमेरिका र चीनबीच अवैध प्रतिबन्ध वा आर्थिक तनाव बढ्ने अवस्था नआओस् भन्ने अपेक्षा व्यक्त गरेका थिए।

चिनकाे राजधानी बेइजिङमा दुई देशका प्रमुखहरूले धेरै द्विपक्षीय अन्तरसरकारी, अन्तरविभागीय र अन्य सम्झौताहरू सहित संयुक्त वक्तव्यमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको क्रेमलिनको विज्ञप्तीमा उल्लेख छ।

युक्रेन युद्धका कारण पश्चिमी मुलुकसँग गम्भीर टकरावमा रहेको रुसका लागि चीन अहिले सबैभन्दा महत्वपूर्ण आर्थिक साझेदारमध्ये एक बनेको छ।