आज जेठ १ गते, विद्यार्थी एकता दिवस, यस्तो छ इतिहास

मूलखबर संवाददाता
काठमाडौं, १ जेठ २०८३

आज जेठ १ गते देशभर विभिन्न कार्यक्रम गरी विद्यार्थी एकता दिवस मनाइँदैछ । निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध संघर्षरत विद्यार्थी आन्दोलनको ऐतिहासिक उपलब्धिको स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
वि.सं. २०२१ साल जेठ १ गते तत्कालीन विद्यार्थी आन्दोलनले पञ्चायती व्यवस्थालाई दबाबमा पार्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) गठन गर्न पाउने अधिकार स्थापित गराएको थियो । लामो संघर्ष, आन्दोलन र बलिदानपछि प्राप्त उक्त अधिकारलाई नेपाली विद्यार्थी आन्दोलनको महत्वपूर्ण उपलब्धिका रूपमा लिने गरिन्छ ।
त्यस समय विभिन्न क्याम्पस र शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूले संगठित आन्दोलन सञ्चालन गरेका थिए । आन्दोलनको चर्को दबाबपछि पञ्चायती व्यवस्था विद्यार्थीहरूको माग सम्बोधन गर्न बाध्य बनेको इतिहास छ । अधिकार प्राप्तिपछि विद्यार्थीहरूले विशाल प्रदर्शन, सभा तथा विजय उत्सव आयोजना गरेका थिए ।
विद्यार्थी संगठनहरूले आज पनि दिवसको अवसरमा र्‍याली, अन्तरक्रिया, विचार गोष्ठी तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् । उनीहरूले विद्यार्थी हक, शैक्षिक सुधार, लोकतान्त्रिक अधिकार र गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।
विद्यार्थी नेताहरूले विद्यार्थी आन्दोलनले लोकतन्त्र स्थापना, राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै ऐतिहासिक उपलब्धिको संरक्षण आवश्यक रहेको बताएका छन् ।