परम्पराको निरन्तरता, उर्जा हराएको नीति कार्यक्रम : प्रमुख सचेतक दुलाल
नेकपाका संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल ले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमलाई “परम्पराको निरन्तरता र आशा हराएको कार्यक्रम” भएको टिप्पणी गरेका छन्।
साेमबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले देशको विद्यमान आर्थिक, सामाजिक तथा रोजगारी संकट समाधान गर्ने स्पष्ट आधार प्रस्तुत गर्न नसकेको बताए।
उनले विगतका कार्यक्रमकै पुनरावृत्ति गरिएको लगाउँदै कार्यान्वयनयोग्य नयाँ योजना र जनतामा उत्साह जगाउने ठोस कार्यक्रमको अभाव रहेको उल्लेख गरे। “जनताले परिवर्तनको अनुभूति गर्ने गरी नयाँ सोच, नयाँ योजना र परिणाममुखी कार्यक्रम अपेक्षा गरेका थिए, तर नीति तथा कार्यक्रममा त्यस्तो स्पष्ट दृष्टि देखिएन,” दुलालले भने।
उनका अनुसार कृषि, उद्योग, शिक्षा, स्वास्थ्य र युवाको रोजगारीजस्ता संवेदनशील क्षेत्रमा सरकारले स्पष्ट कार्ययोजना ल्याउन नसकेको देखिन्छ। उनले केवल घोषणा र प्रतिबद्धताले मात्र जनताको विश्वास नजितिने भन्दै कार्यान्वयन क्षमतामा सरकार गम्भीर बन्नुपर्ने बताए।
प्रमुख सचेतक दुलालले संघीयता कार्यान्वयन, सुशासन प्रवर्द्धन र आर्थिक चलायमानताका लागि व्यावहारिक तथा परिणाममुखी कार्यक्रम आवश्यक रहेको धारणा पनि राखे।
सरकारले भने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक सुधार, पूर्वाधार विकास, डिजिटल सेवा विस्तार, कृषि आधुनिकीकरण र युवामैत्री कार्यक्रमलाई प्राथमिकतामा राखिएको जनाएको छ।





