काठमाडौं उपत्यकामा डाेजर लगाइसकेपछि सुकुम्बासी बस्ती नहटाउन सर्वोच्चले दियाे अन्तरिम आदेश

मूलखबर संवाददाता
काठमाडौं, २६ बैसाख

सर्वोच्च अदालतले सुकुमवासी तथा अव्यवस्थित बसोवासी हटाउने क्रममा कानुनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शुक्रबार सरकारका नाममा उक्त आदेश जारी गर्दै वैकल्पिक व्यवस्थाविना जबरजस्ती बस्ती हटाउने काम नगर्न भनेको हो ।

थापाथलीसहित विभिन्न स्थानका सुकुमवासी बस्ती हटाउने सरकारी अभियानविरुद्ध गोपाल रनपहेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, माजिद अन्सारीलगायतले दायर गरेको रिटमाथि दोस्रो सुनुवाइ गर्दै शुक्रबार अदालतले यस्तो आदेश दिएको हो ।

अन्तरिम आदेशसँगै सरकार, स्थानीय तह वा सुरक्षा निकायले सुकुमवासी तथा अव्यवस्थित बसोवासी हटाउने काम तत्कालका लागि रोक्नुपर्ने भएको छ । जबसम्म कानुनले तोकेको प्रक्रिया पूरा हुँदैन र अदालतमा विचाराधीन रिटको अन्तिम टुंगो लाग्दैन त्यति बेलासम्म बस्ती हटाउने काम गर्न पाइने छैन ।

सरकारले काठमाडौं उपत्यकामा रहेका करिब सबै सुकुम्बासी बस्तीमा डाेवर लगाएर भत्काइसकेपछि अदालतले याे आदेश दिएकाे हाे ।

याे आदेशपछि काठमाडौं उपत्यका बाहिरका बस्तीमा डाेजर लगाउने कार्य तत्काल अगाडि नबढ्ने भएको छ । यसअघि पाेखरा, बुटबल, जनकपुर, विराटनगर लगायतका शहरहरूमा सुकुम्बासी र भुमिहिनहरूले हजारौंको संख्यामा जुलुस र प्रदर्शन गरेर सरकारकाे विराेध गरेका थिए ।