भारत आतङ्कवादविरुद्धको सङ्घर्षबाट पछि हट्दैन: माेदी

मूलखबर संवाददाता
काठमाडौं, २४ बैसाख

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आतङ्कवाद र त्यसलाई संरक्षण गर्ने सम्पूर्ण संरचनाविरुद्ध भारतको अभियान अझै कठोर रूपमा जारी रहने बताउनुभएको छ । उहाँले भारत आफ्नो सुरक्षासम्बन्धी नीतिमा ‘पहिलेजस्तै अडिग’ रहेको स्पष्ट पार्दै पहलगाम आक्रमणका दोषीलाई जवाफ दिइएको दाबी गर्नुभएको छ ।

गत वर्ष अप्रिल २२ मा भारत प्रशासित काश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा भएको घातक आक्रमणपछि दुई आणविक शक्तिसम्पन्न छिमेकी मुलुकबीच सम्बन्ध तीव्र रूपमा बिग्रिएको थियो । उक्त घटनामा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश हिन्दू पर्यटक थिए । भारतले आक्रमणमा पाकिस्तान समर्थित समूहको संलग्नता रहेको आरोप लगाएको थियो, तर इस्लामाबादले त्यसलाई अस्वीकार गरेको थियो ।

त्यस घटनापछि नयाँदिल्ली र इस्लामाबादबीच कूटनीतिक तनावका साथै प्रत्यक्ष सैन्य टकरावसमेत बढेको थियो । भारतले मे ७, २०२५ मा पाकिस्तानभित्र रहेका ‘आतङ्कवादी शिविर’ माथि लक्षित सैन्य कारबाही गरेको घोषणा गरेपछि अवस्था अझ विस्फोटक बनेको थियो । त्यसपछि दुवै देशबीच हवाई आक्रमण, ड्रोन आक्रमण तथा सीमावर्ती क्षेत्रमा भारी मोर्टार प्रहार भएका थिए ।

भारतीय सेनाले सञ्चालन गरेको उक्त कारबाहीलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको थियो । बिहीबार सो अभियानको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री मोदीले जारी गर्नुभएको वक्तव्यमा भारत आतङ्कवादविरुद्धको सङ्घर्षबाट पछि नहट्ने बताउनुभएको हो ।

उहाँले ‘आतङ्कवादलाई परास्त गर्ने र त्यसलाई सहयोग गर्ने सम्पूर्ण इकोसिस्टम ध्वस्त पार्ने हाम्रो सङ्कल्प अझै दृढ छ’ भन्नुभयो । मोदीले पहलगाममा मारिएका निर्दोष नागरिकको स्मरण गर्दै आक्रमणकारीलाई ‘उचित जवाफ’ दिइएको उल्लेख गर्नुभयो ।

मोदी सरकारले ‘सिन्दूर’ शब्दलाई विशेष प्रतीकका रूपमा प्रयोग गरेको थियो । हिन्दू महिलाले विवाहपछि कपालमा लगाउने रातो रङको सिन्दूरलाई सरकारले पहलगाम आक्रमणमा श्रीमान् गुमाएका महिलाहरूको पीडासँग जोड्दै प्रतिशोध र राष्ट्रिय भावनाको प्रतीक बनाएको थियो ।

प्रधानमन्त्री मोदीले भारतीय सेनाको प्रशंसा गर्दै राष्ट्रले सैनिकहरूको ‘साहस र वीरता’ लाई सम्मान गर्ने बताउनुभयो । उहाँले देशको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

गत वर्षको चार दिने सैन्य तनावमा दुवै पक्षका ७० भन्दा बढी मानिस मारिएका थिए । पाकिस्तानले त्यस समयमा भारतीय वायुसेनाका पाँच लडाकू विमान खसालेको दाबी गरेको थियो । तीमध्ये तीनवटा अत्याधुनिक फ्रान्सेली राफेल विमान रहेको इस्लामाबादको भनाइ थियो । भारतले भने आफ्ना विमान क्षतिग्रस्त भएकोबारे कुनै औपचारिक पुष्टि गरेको छैन ।