साउदी अरबकाे असहयोगपछि ट्रम्प भए ब्याक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौसैनिक योजना अचानक स्थगित गरेका छन् ।
साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न तथा प्रिन्स सुल्तान एयरबेस सञ्चालनमा ल्याउन अनुमति दिन अस्वीकार गरेपछि उक्त योजना रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एनबिसी न्युजले जनाएअनुसार ट्रम्प प्रशासनको ‘प्रोजेक्ट फ्रिडम’ नामक सैन्य योजना खाडी क्षेत्रका प्रमुख साझेदार मुलुकहरूलाई पूर्वतयारीबिना सार्वजनिक गरिएको थियो । यसले विशेषगरी साउदी अरेबिया र अन्य खाडी राष्ट्रहरूलाई असहज बनाएको बताइएको छ ।
प्रतिवेदनअनुसार राष्ट्रपति ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानसँग प्रत्यक्ष टेलिफोन संवाद गरी सहयोगका लागि प्रयास गरेका थिए । तर रियादले अमेरिकी सैन्य विमानलाई आफ्नो भूभाग तथा हवाई मार्ग प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि अपरेसन तत्कालका लागि रोक्नुपरेको हो ।
एनबिसी न्युजसँग कुरा गर्ने एक साउदी स्रोतले योजनाको प्रकृतिप्रति असन्तुष्टि व्यक्त गर्दै ‘यस्तो प्रकारका सैन्य गतिविधिमा वास्तविक समयमै परिस्थिति तीव्र रूपमा बदलिन्छ’ भनेको थियो । स्रोतले साउदी अरेबिया प्रत्यक्ष सैन्य तनावभन्दा पनि कूटनीतिक समाधानको पक्षमा रहेको स्पष्ट पारेको छ ।





