वडादेखि केन्द्रसम्मै युवाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने नेकपाकाे निर्णय

मूलखबर संवाददाता
काठमाडौं, २० बैसाख

नेपाली कम्युनिस्ट पार्टीले अब वडादेखि केन्द्रसम्मै युवाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने भएको छ । केन्द्रीय कार्यसंयोजक समिति बैठकको निर्णय शनिबार सार्वजनिक गर्दै प्रवक्ता प्रकाश ज्वालाले सबै कमिटी निर्वाचित र समावेशी हुने बताए । ‘पार्टीको वडादेखि केन्द्रसम्मका सबै कमिटीहरू निर्वाचित हुनेछन् र समानुपातिक समावेशी मान्यताअनुसार कमिटी निर्माण हुनेछन् । निर्वाचित कमिटीहरूमा अनुभवी, प्रौढ र युवा तथा नवयुवाहरूको समावेशिता रहनेछ । जसमा युवा र नवयुवाहरूको प्रतिनिधित्व ५० प्रतिशतसम्म पुर्‍याइनेछ,’ उनले भने ।

बैठकले पार्टीका विभिन्न तहका अधिवेशन तथा एकता महाधिवेशनको कार्यतालिका तय गरेको हो । बैठकले आगामी असार र साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । १५ भदौसम्म वडा तह, १६ भदौदेखि भदौ मसान्तसम्म पालिका तहका र असोज मसान्तसम्म जिल्लास्तरका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित गरेको छ । १५ कात्तिकसम्म प्रदेश अधिवेशन र ११–१५ मंसिरमा एकता राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।

पार्टीका सबै तहका अधिवेशन तथा महाधिवेशनसम्बन्धी दस्तावेज, प्रतिवेदन तथा कार्यविधिको तयारी भने केन्द्रीय समिति बैठकको निर्णयबाट गरिने ज्वालाले जानकारी दिए । वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक स्पष्टतासहित पार्टी पुनर्गठनको प्रक्रियालाई अगाडि बढाउँदै महाधिवेशनबाट पूर्णता दिइने भएको छ ।

पार्टी तथा जनवर्गीय, मोर्चा संगठनहरूको एकीकरण तथा समायोजनअन्तर्गत केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, वडा तथा टोल तहसम्मको संगठनात्मक समायोजन प्रक्रिया आगामी जेठ मसान्तसम्ममा सम्पन्न गर्ने निर्णय पनि भएको छ । सिंगो कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकीकृत कम्युनिस्ट पार्टी निर्माणका लागि विशेष पहल गर्ने निर्णय पनि गरेको छ ।

संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर तथा देशभक्त शक्तिहरूका बिचमा राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा एवं सुदृढीकरणको उद्देश्यसहित साझा समझदारी कायम गर्दै सडक र सदन दुवै मोर्चाबाट सशक्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रको कामलाई वैचारिक, राजनीतिक र कूटनीतिक रूपमा ठोस ढंगले अगाडि बढाउने भएको छ । सिंगो पार्टीपंक्तिलाई नियमित रूपमा उत्पादन तथा श्रम कार्यमा जोड्ने अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको ज्वालाले बताए । बैठक नेकपा संयोजक पुष्पकल दाहाल प्रचण्डको अध्यक्षता र सहसंयोजक माधवकुमार नेपालले सञ्चालन गरेको बैठक १९ चैतमा सुरु भएर १४ वैशाखमा सम्पन्न भएको थियो ।