नदी किनारमा रहेका बस्ती आजदेखि फेरि हटाइँदै, डाेजरले घर टहरा भत्काउँदै

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौँ उपत्यकामा बागमती नदी तथा सहायक नदी किनारमा रहेका बस्ती आज (शुक्रबार)देखि फेरि हटाउने भएको छ।

पहिलो चरणमा सिनामंगलको गैरीगाउँ, शान्तिनगर, मनोहरा र थापाथली क्षेत्रका बस्ती हटाएको सरकारले दोस्रो चरणमा उपत्यकाका नदी किनार अतिक्रमण गरेर बनाइएका थप बस्ती हटाउन लागेको हो।

यस विषयमा बिहीबार शहरी विकास मन्त्रालयमा विभिन्न सरकारी निकायको संयुक्त बैठक बसेको थियो। उक्त बैठकमा बस्ती हटाउन आवश्यक तयारी पूरा भएको निष्कर्ष निकालिएको थियो।

बस्ती भत्काएपछि नदी किनारका बस्तीका नागरिकलाई विवरण संकलन गर्नका लागि दशरथ रंगशाला पुर्‍याइने मन्त्रालयले जनाएको छ। त्यसका लागि रंगशालामा तीन वटा सहायता कक्ष सञ्चालन गरिने छ।

काठमाडौंको टेकुस्थित वंशीघाटको सुकुम्बासी बस्तीमा डोजर चलेको छ। शुक्रबार बिहान ७ बजेदेखि त्यहाँको बस्ती खाली गरिने भनेर प्रशासनले उर्दी जारी गरेको थियो। बिहान ८ बजेपछि त्यस क्षेत्रमा डोजर पुगेको थियो।  पौने ९ बज्दा त्यहाँको बस्तीमा डोजर चल्न सुरू भएको छ।

बल्खुस्थित बागमती नदी किनारका सुकुम्बासी बस्ती भत्काउन थालिएको छ। बिहान साढे ८ बजेदेखि यो क्षेत्रमा डोजर चलाएर घर-टहरा भत्काउन थालिएको हो।