व्यवसायी शेखर गोल्छा पक्राउ, हल्ला विहानदेखी, पक्राउ साँझमात्र

मूलखबर संवाददाता
काठमाडौं, ११ बैसाख

व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । उनलाई नक्साल क्षेत्रबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

विहानैदेखी गाेल्छालाई भैरहवाबाट पक्राउ गरिएको समाचार आइरहेका भएतापनि प्रहरीले साँझ मात्रै काठमाडौं नक्सालबाट पक्राउ गरिएको जनाएको हाे ।

गोल्छालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले पुर्जी दिएको र अनुसन्धानका लागि बिहिबार नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा पक्राउ परेका हुन् । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसुरमा थप अनुसन्धान तथा कारबाहीका लागि बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ ब्युरोमा प्राप्त हुन आएकोमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।