बालेन सरकारकाे कदमविरूद्व हर्क साम्पाङ भन्छन्- ए धनी शासक… तिम्लाई के थाहा गरीबको पिडा !

मूलखबर संवाददाता
काठमाडौं, ११ बैसाख

प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्बासी बस्ती दुइदिनमा खाली गरि डाेजर लगाउने निर्देशन दिएपछि चाैतर्फी आलाेचना र प्रतिक्रिया आएका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क कुमार राई हर्क साम्पाङले धनि शासकलाई गरिबकाे पीडा थाहा नहुने भन्दै अस्ति चुनावमा धनीपूर्जा बाँड्छु भन्दै भोट माग्नेले अहिले बस्तीमा डाेजर चलाउने निर्णय गलत भएको बताएका छन् ।

उनलेे भनेका छन्- हिँड्न नसक्नेलाई काँध हाल्ने पो सरकार ! हिँड्न नसक्नेको बैशाखी खोस्ने के सरकार !!!!

यस्तो छ उनकाे प्रतिक्रिया सामाजिक सञ्जालमा 

ए धनी शासक… तिम्लाई के थाहा गरीबको पिडा ! तिम्लाई के थाहा गरीब सुकुम्बासीको जीवन र दिनचर्या ! अस्ति चुनावमा धनीपूर्जा बाँड्छु भन्दै भोट मागेको कति चाँडै बिर्सेको ? सुकुम्बासी बनेर बाँच्नुको पिडा के हो यस्तो ??? सम्बिधानले नागरीकलाई ससम्मान बाँच्न पाउने मौलिक हक दिएको छ तर कागजमा ! यथार्थमा त सुकुम्बासीको घरमा डोजर चल्छ ! चरा मुसा र किरा फट्याङ्ग्रालाई समेत बस्न पाउने बासको अधिकार हुन्छ भने मान्छे हुन् ती त ! बर्षौँ पसिना बगाएर कमाएको धेर थोर सम्पत्तिमाथि सरकारी डोजर चल्दा आक्रोशित बन्नु स्वभाविक हो तर पिडितलाई सबैले अपमान गर्दा झन घाऊ दिएर नुन चुक लगाइदिने समाज पनि कति निर्दयी, कति निष्ठुरी ! करोडौँको महलमा सुरक्षा फौज लिएर लाखौँको ओछ्यानमा हजारौँको डिनर गरेर आरामको निद्रा सुत्ने शासकलाई के थाहा घर टहरा गुमाएर अनाम नगरको पुलमूनि रातभरि कुकुर बिराला सङ्गै गह्नाउने ढल सुँघ्दै सुत्नेको पिडा ? करोडौं अरबौँको घोटाला गर्नेहरुलाई नभएर एक मुठा साग बेचेर गुजारा गर्नेलाई शत्रु ठान्ने, निम्न आय भएकालाई जनताले नै तिरेको करबाट किनेको सरकारी लठ्ठी, बुट र बन्दुक देखाउने सरकारलाई मेरो प्रश्न ! तिमी कस्को सरकार र कस्तो सरकार ??? खोइ त चुनावी नारा र बाचाको इज्यत जोगाएको ??? कानुनको काम जनतालाई सताउने होइन जनतालाई बचाउने हुनु पर्दछ तर यो सल्लाह तिमी धनी शासकलाई के थाहा ??? एक रात गरीबको झुपडीमा गएर सुत ! एक छाक गरीबको खाना खाएर बाँच ! एक दिन गरीब सङ्गै ज्याला मजदुरी गरेर हेर ! एक हप्ता गरीबको पीर जिएर हेर अनि बुझ्नेछौ वास्तविक नेपाल र वास्तविक नेपालीको पिडा ! अरुको रोदन र अरुको चित्कारलाई संगीत नठान ! गरीबको पीर र व्यथामा, समस्या त आवश्यकतालाई बुझ्न नसक्ने धनी र ठालु सरकार… तिम्लाई मेरो सुझाव छ ! गरीबको आत्मालाई रुवाएर सत्ता टिके पनि सफलता मिल्नेछैन तिम्लाई किनकि मैले।बुझेको सरकार भनेको धनीको लागि नभएर गरीब र निमुखाको लागि बन्नु पर्छ ! हिँड्न नसक्नेलाई काँध हाल्ने पो सरकार ! हिँड्न नसक्नेको बैशाखी खोस्ने के सरकार !!!!