आज अप्रिल २२, नेकपा स्थापना दिवस मनाइँदै
आज वैशाख ९ (अप्रिल २२) का दिन नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहाससँग जोडिएको महत्वपूर्ण दिनका रूपमा मनाइँदै आएको छ। यसै अवसरमा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस विभिन्न कार्यक्रममार्फत देशभर मनाइँदैछ। यस दिन कम्युनिष्ट नेता लेनिनकाे जन्मदिन पनि हाे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थापना २००६ वैशाख १० गते (२२ अप्रिल १९४९) मा भारतको कोलकातामा भएको थियो। पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको यस पार्टीका संस्थापक सदस्यहरूमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए।
यस वर्ष पनि कम्युनिष्ट धारका विभिन्न राजनीतिक दलहरूले स्थापना दिवसलाई विशेष रूपमा स्मरण गर्दै विचार गोष्ठी, अन्तरक्रिया, र्याली तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेका छन्। राजधानी काठमाडौंस्थित पेरिसडाँडामा मुख्य कार्यक्रम आयोजना गरिएको छ, जहाँ पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहनेछ।
कार्यक्रममा पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत वरिष्ठ नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको पार्टी कार्यालयले जनाएको छ। कार्यक्रममार्फत कम्युनिष्ट आन्दोलनको ऐतिहासिक योगदान, वर्तमान राजनीतिक अवस्था र आगामी दिशा बारे चर्चा गरिने बताइएको छ।
पार्टी कार्यालय सचिव गणेशमान पुनका अनुसार स्थापना दिवसको अवसरमा देशभरका जिल्ला तथा स्थानीय तहसम्म विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। उनले भने, “यस दिनलाई केवल औपचारिक रूपमा होइन, कम्युनिष्ट विचारधाराको सुदृढीकरण र जनतासँगको सम्बन्ध मजबुत बनाउने अवसरका रूपमा पनि लिइएको छ।”
नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास लामो र संघर्षपूर्ण रहँदै आएको छ। श्रमिक, किसान र उत्पीडित वर्गको अधिकारका लागि लड्दै आएको यो आन्दोलनले विभिन्न राजनीतिक परिवर्तनहरूमा महत्वपूर्ण भूमिका खेलेको इतिहास छ। स्थापना दिवसको अवसरमा नेताहरूले विगतका उपलब्धिहरूको समीक्षा गर्दै वर्तमान चुनौतीहरू सामना गर्न एकता र सहकार्य आवश्यक रहेको धारणा राख्ने अपेक्षा गरिएको छ।
यस अवसरमा शुभकामना सन्देश आदान–प्रदानका साथै पार्टी कार्यकर्ताहरूले सामाजिक सेवामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्ने बताएका छन्।





