अमेरिका–इरान वार्ता : इस्लामावादमा सुरक्षा व्यवस्था कडा, उपराष्ट्रपति जेडी भान्स नआउने
आगामी दिनमा अमेरिका र इरानबीच हुने शान्ति वार्ताअघि पाकिस्तानको राजधानी इस्लामावादमा आइतबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि शान्ति वार्ता पुनः सुरु गर्न अमेरिकी वार्ताकारहरू सोमबार पाकिस्तानमा पुग्ने बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पको आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशलमा उहाँले लेख्नुभएको छ, “मेरा प्रतिनिधिहरू पाकिस्तानको इस्लामाबाद जाँदैछन् र उनीहरू भोलि साँझ वार्ताका लागि त्यहाँ हुनेछन् ।”
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि हुने वार्तामा उपराष्ट्रपति जेडी भान्सले प्रतिनिधिमण्डलको नेतृत्व नगर्ने आइतबार बताउनुभएको छ। उहाँले वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबारसम्ममा इस्लामावाद पुग्ने यसअघि नै बताउनुभएको थियो ।
इस्लामावादमा तेहरानसँग अघिल्लो चरणको वार्ताको नेतृत्व गरेका तर कुनै सम्झौता नगरी आएका उपराष्ट्रपति भान्सले यस पटक अमेरिकी वार्ता टोलीको नेतृत्व नगर्ने समाचारले वार्ताको वातावरण अन्योलपूर्ण अवस्थाको रूपमा देखा परेको छ किनकि ट्रम्पको क्याबिनेटका सदस्यहरूले उपराष्ट्रपति भान्सले नै वार्ताको नेतृत्व गर्ने बताएको थियो ।
पाकिस्तानी अधिकारीहरूले यसअघि इश्लामावाद शहरभर र छिमेकी रावलपिण्डीमा सडक बन्द गर्ने र सवारी प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । एएफपीका पत्रकारहरूले इस्लामावादको सबैभन्दा सुरक्षित होटल, जहाँ अमेरिका र इरानी प्रतिनिधिहरूबीच पहिलो चरणको वार्ता भएको थियो, त्यहाँ नजिकै सशस्त्र गार्डको उपस्थिति र चेकप्वाइन्टहरू बनाइएको बताएका छन् ।
सुरक्षा सावधानीका लागि आइतबारदेखि नै सेरेना होटल जाने अधिकांश सडकहरू काँडेतार, ब्यारिकेड, कडा सुरक्षा र ट्राफिक डाइभर्सनका साथ बन्द गरिएका छन् । “नागरिकहरूलाई सुरक्षा निकायहरूसँग सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ,” शहरका एक अधिकारीले एक्समा पोस्ट गर्नुभयो ।





