चैत महिना वन डढेलोको उच्च जोखिममा, कुन प्रदेशमा बढी ?
हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्छ । तर गत चैतमा भने डढेलोको घटना थोरै मात्र घट्यो । मनसुनपूर्व नै औसतभन्दा बढी वर्षा भएकाले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत चैतमा डढेलोका घटनामा गिरावट आएको हो ।
वन तथा भू–संरक्षण विभागका अनुसार २०७८ चैतमा ४६६ वटा डढेलोका घटना दर्ता भएका थिए । यो संख्या २०७९ चैतमा घटेर २६७ मा झरेको थियो । २०८० चैतमा २४९ र २०८१ चैतमा पुनः बढेर ३३१ पुगेको थियो । २०८२ चैतमा भने हालसम्मकै थोरै ७९ वटा मात्रै डढेलाका घटना दर्ता भएका छन् ।
समग्रमा २०७८ मा दुई हजार १६२ वटा डढेलोका घटना भएकामा २०७९ मा एक हजार २७० मा झरेको थियो । २०८० मा दुई हजार ५५ र २०८१ मा तीन हजार ४७ पुगेको थियो । २०८२ मा भने ४२४ वटा घटना दर्ता भएका छन् ।
प्रदेशगत रूपमा हेर्दा डढेलोबाट पछिल्ला वर्षमा लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित छ । २०७८ मा ४८२ वटा डढेलो भएको लुम्बिनीमा २०८१ सम्म यो सङ्ख्या बढेर ६९८ पुगेको थियो । २०८२ मा भने यो सङ्ख्या घटेर ४४ मा झरेको छ ।
कर्णालीमा पनि २०७८ मा ३१४ बाट २०८१ मा ५७५ पुगेको थियो । तर २०८२ मा भने ५७ वटा वन डढेलोका घटना दर्ता भएका छन् ।
त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा २०७८ मा ३८९ र २०८१ मा ५२५ वटा डढेलोका घटना भएकामा २०८२ मा भने १३१ वटा घटना दर्ता भएका छन् ।
बागमतीमा २०७८ मा ३०३ बाट २०८१ मा ४७५ पुगेको थियो भने २०८२ मा यो सङ्ख्या घटेर ७६ पुगेको छ । गण्डकीमा २०८१ मा २४९ वन डढेलोका घटना भएकामा २०८२ मा घटेर ३५ वटा दर्ता भएका छन् । यसैगरी, कोशीमा २०८१ मा २८७ वन डढेलोका घटना भएकामा २०८२ मा घटेर ३१ पुगेको छ ।
ads/hardik-niskula-opd1440270-2-30320260940361-1042026074814.jpg
अघिल्लो वर्ष मधेश प्रदेशमा २३८ वन डढेलोका घटना भएकामा २०८२ मा घटेर ५० मा झरेको छ ।
तथ्यांकले २०८२ मा सबैभन्दा बढी सुदूरपश्चिममा र सबैभन्दा कम कोशी प्रदेशमा डढेलो भएको देखाउँछ । वन तथा भू–संरक्षण विभागको तथ्यांकमा विशेषगरी विसं २०७३, २०७८ र २०८१ मा अत्यधिक डढेलो घटना अभिलेख भएका छन् ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले २०७७/७८ देखि २०८१/८२ सम्मको पाँच वर्षमा वन डढेलोका कारण करिब ९१ करोड ७९ लाख रुपैयाँ आर्थिक क्षति भएको जानकारी दिइन् ।





