झण्डै दुई तिहाई सांसदको बहुमत प्राप्त सरकार आफैं घेराबन्दीमा ?
झण्डै दुई तिहाई सांसदको बहुमत प्राप्त सरकारसँग जनताको ठूलो अपेक्षा भएपनि दुई साताभित्रै मन्त्री बर्खास्ती, नीतिगत निर्णय उल्ट्याउने अवस्था, राजनीतिक नियुक्ति विवाद र न्यायिक–राजनीतिक टकरावका घटना देखिन थालेको छ । ३६ वर्षीय प्रधानमन्त्री शाह ‘एक्सन–ओरिएण्टेड’ हुन खोजिरहेका छन् । तर, संस्थागत स्थायित्व र नीति परिपक्वतामा चुक्दा सरकार आफैं घेराबन्दी परेको अवस्था छ ।
सरकार जेनजी, निजी क्षेत्र, विद्यार्थी, संगठन र पुराना राजनीतिक दलको निशानामा पर्न थालेको छ । जनताको अपेक्षा पूर्तिभन्दा पनि स्टण्टबाजी, छिटो निर्णय र आक्रामक शैलीमा अगाडि बढेको सरकारलाई प्राम्भिक दिनहरुमै अप्ठेरो पारिरहेको सहजै अनुमान लगाउन सकिन्छ ।
दुई सातामै श्रममन्त्री बर्खास्त
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साह दुई सातामै बिदा भएका छन् । पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डमा निरन्तरता दिएको आरोपपछि सभापति रवि लामिछानेको सिफारिसमा उनलाई पदमुक्त गरिएको छ । जुनु आफैं सक्षम र अब्बल नारी हुन् भन्ने रास्वपा भित्रैको एउटा पक्षको दाबी छ । ‘राईट टु रिकल’ को नाममा साहलाई स्पष्टीकरणसमेत नसोधी क्याबिनटेबाट हटाइयो ।
मन्त्री साह उपसभामुख निर्वाचन प्रकरणको कोपभाजनको शिकार बनेको बताइन्छ । रवि उपसभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिन चाहन्थे तर बालेनले आफ्नो विरोध गरिरहने हर्कराज साम्पाङ्ग नेतृत्वको श्रम संस्कृति पार्टीलाई दिलाए । राप्रपालाई उपभामुख नदिएपछि रविले हतारहतारमा मन्त्री साहलाई पदबाट हटाउन पत्र लेखेको चर्चामा दम देखिन्छ ।
करोडपति मन्त्रीको निर्णय विवादमा
बालेन क्याबिनेटमा धनाढ्यको उपमा पाएकामध्येका एक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले कार्यभार सम्हालेपछि एसईईपछि सञ्चालन हुने ब्रिज कोर्स र प्रवेश तयारी कक्षाहरु बन्द गराए । उनको निर्णयको उद्देश्य विद्यार्थीमा मानसिक दबाब घटाउने र निजी कोचिङ व्यवसाय नियन्त्रण गर्ने उल्लेख थियो । निर्णय सार्वजनिक भएलगत्तै विद्यार्थी, अभिभावक, निजी शैक्षिक संस्था तथा सरोकारवालाबाट विरोध भयो ।
नीतिगत परामर्शबिना निर्णय गरिएको आरोप लागेपछि २४ घण्टामै मन्त्री निर्णय फिर्ता गर्न बाध्य भए । यो घटनालाई सरकारको पहिलो ठूलो नीतिगत ‘युटर्न’ र असफलता मानिएको छ ।
रेखा शर्मा प्रकरण
बालेन सरकारमा सबैभन्दा बढी चर्चामा आइरहने मन्त्री हुन् गृहमन्त्री सुधन गुरुङ्ग । मन्त्रालयमा सुतेको फोटो फेसबुकमा हाल्नेदेखि अनुगमनको नाममा राति प्रहरी ब्यारेक छिरेर स्टण्टबाजी गर्ने उनी सोमबार राति कानुनमन्त्री सोबिता गौतमसहित आईजीपी दानबहादुर कार्कीको निवास, नक्साल पुगे ।
उनी राजधानी, काभ्रेपलाञ्चोक, धादिङ हुँदै चितवन, नवलपरासीका प्रहरी कार्यालय पुगेका छन् । उनको त्यस्तै स्टण्टलाई अदालतले फ्लप गरिदिएको छ । चैत १६ गते राति प्रहरीले बलजफ्ती गर्दै लुम्बिनीकी एमाले प्रदेश सांसद रेखा शर्मालाई नियन्त्रणमा लियो । बालबालिकालाई बाल श्रम शोषण गराएको आरोपमा समातिएकोमा जिल्ला अदालतले उनलाई रिहा गरेको हो ।
सरकारी विज्ञापन रोक्ने निर्णय
सरकारले निजी पत्रपत्रिकामा दिँदै आएको सरकारी विज्ञापन रोक्ने निर्णय गरेको छ । बालेनले लोककल्याणकारी विज्ञापनसमेत रोकेर निजी मिडिया नियन्त्रण अभियान चलाएका छन् । त्यसको विरोधमा सोमबार प्रकाशित अधिकांश दैनिक पत्रिकाले मुख्य पृष्ठमा प्रश्नवाचक चिह्न मात्रै छापे ।
बालेन सरकारले भारतमा नरेन्द्र मोदी सरकारले गरेजस्तो नियन्त्रण अभियान चलाउन खोजेको देखिन्छ । आर्थिक रुपमा कमजोर बनाइएपछि मिडियाले आफ्नो मात्रै गुणगान गाउने हिसाबले सरकारले यो निर्णय गरेको टिप्पणी हुन थालेको छ ।
विवादको घेरामा गृहमन्त्री
गृहमन्त्री गुरुङ्गले भ्रष्टाचार र गुण्डागर्दीविरुद्ध कडा अभियान चलाए । उनले काठमाडौंबाट बडी बिल्डरदेखि गुण्डा पेशामा संलग्न युवाहरुलाई रातारात समात्न लगाए । त्यसमा कतिपय उनकै पुराना साथी पनि परे । सो स्टण्टबीच उनी पोखराको फेवाताल मापदण्डभित्र पर्ने जग्गा लिजमा लिएको प्रकरणमा मुछिए ।
पोखरा महानगरपालिकाले फेवाताल छेउका संरचना हटाउने अभियान चलाउँदा गुरुङ्गले लिजमा लिएको २१ रोपनी जग्गा पनि भेटिएको थियो । उनले आफूलाई जग्गाधनीले ठगेको, मापदण्ड लुकाएको जिकिर गरेका छन् । पोखरामा पाका पर्यटनव्यवसायी कर्ण शाक्यद्वारा सञ्चालित होटलमा पूर्वजानकारी नदिई डोजर चलाउन लगाएका गृहमन्त्री त्यसपछि आफैं रक्षात्मक बने ।
यता, उनको सम्पत्ति विवरण देखेर सर्वसाधारणले जिब्रो टोकेका छन् । गोरखादेखि धनकुटासम्मको सयौं रोपनी जग्गामा हदबन्दीको अंकुश भेटिएको छ । जबकि, उनका बुवाले एउटा अन्तरवार्तामा छोरालाई भारी बोकाएर पढाएको बताएका छन् । कलिलै उमेरमा उनले करोडौंको सम्पत्ति कसरी जोडे ? गम्भीर प्रश्न उठेको छ ।
सम्पत्तिको विषयलाई लिएर सर्वत्र प्रश्न उठेपछि उनले ‘जन्मिँदै गरिब हुनु गल्ती होइन, तर गरिब मर्नु गल्ती हो’, भन्ने अभिव्यक्ति दिएका थिए । त्यसपछि चर्को विरोध भएकोमा जेनजी अभियन्ता रक्षा बमसहितले फट्कारेपछि उनले स्टोरी डिलिट गरेका छन् ।- जनअास्थाबाट





