आपसी सद्भाव, समझदारी र भाइचाराको भावना फैलियोस् : राष्ट्रियसभा अध्यक्ष दाहाल

मूलखबर संवाददाता
काठमाडौं, १ बैसाख २०८३

राष्ट्रिय सभा अध्यक्ष दाहालले नयाँ वर्षसँगै आपसी सद्भाव, समझदारी र भाइचाराको भावना फैलियोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । उनले एक न्देश जारी गर्दै नयाँ वर्षसँगै देशमा स्थिरता, सुशासन र विकासको ढोका खुल्ने विश्वास पनि राखेका छन् ।

शुभकामनाकाे पुरा पाठ-

नयाँ वर्ष वि.सं. २०८३ सालको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् दीर्घायुको हार्दिक शुभकामना व्यक्त गर्दछु। नयाँ वर्षसँगै देशमा स्थिरता, सुशासन र विकासको ढोका खुल्नेछ भन्ने विश्‍वास लिएको छु।

आजदेखि हामी वि.सं. २०८२ साललाई बिदा गरी वि.सं. २०८३ सालमा वर्षमा प्रवेश गरेका छौँ। बितेको वर्ष नेपालको इतिहासमा आन्दोलन, विध्वंश र राजनीतिक परिवर्तनको वर्षका रूपमा रहेको छ। वर्षको मध्यतिर भदौ २३ को जेन-जी आन्दोलन र २४ को विनासकारी विध्वंशले देशमा ठुलो मानवीय र भौतिक क्षति भएको छ। भ्रष्टाचार, व्यथितिका विरूद्ध भएको जेन-जी आन्दोलन, त्यसमाथिको दमनपछि फैलिएको अनियन्‍त्रित विध्वंश, प्रतिनिधि सभा विघटन र अन्तरिम सरकार गठन, फागुन २१ को प्रतिनिधि सभा निर्वाचन र त्यसको परिणाम बितेको वर्षका ठुला राजनीतिक घटनाहरू हुन्।

सङ्‍घीय संसदले कानुन निर्माण, सरकारका काम कारबाहीमा निगरानी र खबरदारी एवम् जनताका आवाज संसदमार्फत् राज्यका निकायसम्म पुर्‍याउने विशिष्ट भूमिका खेल्दै आएको छ। अहिले नि कयौँ कानुन निर्माण गर्न बाँकी नै छ। कयौँ कानुनहरू समानुकूल संशोधन गर्न बाँकी छ। नयाँ वर्षसँगै फेरिएको राजनीतिक नेतृत्वले बाँकी रहेका सबै ऐन कानुन छिटो छरितो निर्माण गर्ने र ८० को दशकलाई समृद्ध एवम् विकसित नेपाल निर्माणको आधार बनाउन पहल गर्ने मैले विश्वास लिएको छु।

संसदलाई जनताको आवाजको प्रभावकारी प्रतिनिधित्व गर्ने थलोको रूपमा विकास गर्न र सङ्घीय संसदका सदस्यहरूले आफूलाई जनताको असली प्रतिनिधि प्रमाणित गर्न अझैँ प्रतिबद्ध भएर लाग्न जरूरी छ। नयाँ वर्षसँगै आपसी सद्भाव, समझदारी र भाइचाराको भावना फैलियोस्, राजनीतिक इमान्दारिता र नैतिकतासहितको सक्षम नेतृत्व विकास गर्न हामी सबैलाई प्रेरणा मिलोस्, फेरि पनि नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना व्यक्त गर्दछु।

वि.सं. २०८३ बैशाख १ । ने.सं. ११४६ चौलागाः १२, मंगलबार

नारायण प्रसाद दाहाल
अध्यक्ष, राष्ट्रिय सभा