मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, सबै मन्त्री कराेडपति, हेराैं सम्पत्ति विवरण
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
आइतबार सम्पत्ति विवरण सार्वजनिक गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री वालेन्द्र साहको धनुषामा १.२ बिघा र काठमाडौंमा ५ आना जग्गा रहेको छ । त्यस्तै महोत्तरीमा ९ बिघा जमिन रहेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेसँग ललितपुर, धुलिखेल र बन्दिपुरमा १२ करोड ७५ लाख रुपैयाँ बराबरका ४ वटा घर रहेका छन् । त्यस्तै, गोरखा र तनहुँमा ११ रोपनी बराबर १३ लाख ५० हजार रुपैयाँका जग्गा रहेका छन् ।
त्यस्तै उनीसँग पारिवारिक तथा रोजगारीबाट जोडेका ४५ तोला सुन र बैंक खातामा श्रीमतीको आय एवं सापटीसहित १९० लाख मौज्दात रहेको छ ।
गृहमन्त्री सुधन गुरुङको धनकुटा, चितवन र गोरखामा जग्गा रहेको छ । धनकुटामा उनकै नाममा १९ रोपनी १५ आना जग्गा रहेको छ । उक्त जग्गा लगानीबाट प्राप्त पैसाबाट किनिएको उनले विवरणमा खुलाएका छन् ।
त्यस्तै बुवा दिलबहादुरको नाममा चितवनको भरतपुरमा ३० कठ्ठा जमिन रहेको छ । त्यस्तै हजुरबुवा रामसल गुरुङको नाममा गोरखामा २२१ रोपनी जमिन रहेको छ । त्यस्तै मन्त्री गुरुङकै नाममा ८९ तोला सुन र चाँदी ६ किलो रहेको छ । त्यस्तै विभिन्न बैंकमा ६१ लाख ६० हजार रुपैयाँ बचत रहेको छ ।
त्यस्तै होप होल्डिङ्ग्स प्रालिमा ३० हजार थान सेयरको ३० लाख, लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालि ५७ हजार थान सेयरको ५७ लाख रुपैयाँबराबरको सम्पत्ति रहेको छ । त्यस्तै एडभेन्चर भिल्ला प्रालिको नाममा ७० लाख रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । त्यस्तै विभिन्न कम्पनीको गरी २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँबराबरको सेयर रहेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक महिला सीता वादीसँग कृषि तथा पशुधनमा २० वटा कुखुरा र एउटा कुकुर रहेको छ ।
उनले विवाहमा १८ तोला सुन र १५ तोला चाँदी पाएको विवरण पनि सार्वजनिक गरेकी छन् । उनीसँग एनआइसी/प्रभु बैंकमा १५ लाख रुपैयाँ नगद रहेको विवरणमा उल्लेख गरेकी छन् ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र उनको परिवारका नाममा काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा छ।
२५ तोला सुन, १०० तोला चाँदी भएका पोखरेलको बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलकाे काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा मन्त्री रावलका नाममा छ। उनले यी जग्गाको स्रोत श्रीमान्को आय भनेकी छन्।
रावलसँग २५ तोला सुन र बैंकमा २४ लाख रुपैयाँ बचत रहेको छ। उनीसँग ४४ लाखको गाडी पनि छ। २० लाख रुपैयाँ एभरेष्ट बैंकबाट ऋण लिएको उल्लेख छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको काठमाडौँमा दुईवटा घर रहेका छन्।
वीरेन्द्रभक्त श्रेष्ठको नाममा काठमाडौँ महानगरपालिका–२४ मा २ आना तथा विकास श्रेष्ठको नाममा काठमाडौँ–१३ मा ४ आना जग्गामा घर रहेको छ।
यस्तै, सुन र चाँदी १५÷१५ तोला रहेको विवरणमा उल्लेख छ। मन्त्री श्रेष्ठले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनीसँग विभिन्न बैंकमा गरी ७८ लाख ९८ हजार ५४४ रुपैयाँ ३३ पैसा नगद रहेको छ। १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँको २० हजार ९७८ कित्ता सेयर रहेको छ। यसैगरी उनीसँग ल्यान्ड क्रुजर गाडी, इलेक्ट्रिक गाडी र एउटा स्कुटर रहेको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमसँग काठमाडौँ र चितवनमा दुई वटा घर छन्।
श्रीमान गृहन्द्र घिमिरेको नाममा काठमाडौँ क्षेत्र नं ३ मा र सासु आमा कृष्ण देवीको नाममा चितवनमा घर रहेको सार्वजनिक भएको विवरणमा उल्लेख छ।
गौतमले ५ वटा बैंकमा १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छन्। उनले १५ तोला सुन, ९ तोला चादी र १ तोला हिरा पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन्। उनको र श्रीमानको नाममा छुट्टा छुट्टै गाडी छन्।
गौतमका नाममा २६ लाख र श्रीमान गृहेन्द्र घिमिरेको नाममा ९५ लाख रुपैयाँको गाडी छ। यी दुवै सवारी खरिद गर्दा ४५ लाख ऋण लिएको र बाँकी रकम तलब र पुरानो गाडी साटेको उनले विवरणमा उल्लेख छ।






