पाकिस्तानको इस्लामावादमा अमेरिका र इरानबीच वार्ता, हाेला त दिगाे शान्ति ?
एक महिनाभन्दा लामाे भिषण हमला र द्वन्दपछि अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा रातभरि वार्ता भएको छ।
इस्लामावादको होटल सेरेनामा शनिबार दिउँसोदेखि सुरू भएको त्रिपक्षीय वार्ता आइतबार बिहान ५ बजेसम्म चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सञ्चारमाध्यमका अनुसार वार्ता विभिन्न चरणमा भएका थिए। वार्तापछि दुवै पक्षले प्राविधिक टोलीमार्फत लिखित दस्तावेज आदानप्रदान गरेका थिए। दस्तावेजहरूमा के के कुरा उल्लेख छ भन्ने सार्वजनिक भइसकेको छैन।
अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका छन् भने भने विशेष दूत स्टिभ विटकफ र डोनाल्ड ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नर पनि सहभागी छन्। इरानी पक्षबाट सभामुख मोहम्मद बाघेर गालीबाफ र विदेशमन्त्री अब्बास अरागची वार्तामा सहभागी भएका थिए।
इरानको सरकारी टेलिभिजनले केही मतभेद भए पनि वार्ता जारी रहने बताएको भनेर अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले लेखेको छ। त्यसले आइतबार बिहान पुनः वार्ता सुरू हुने संकेत गरेको छ। वार्ताको मुख्य अड्चन स्ट्रेट अफ हर्मुजको नियन्त्रणको विषय बनेको छ।
सन् १९७९ को इस्लामिक क्रान्तिका दौरान तेहरानस्थित अमेरिकी दूतावास कब्जा र अमेरिकी नागरिकहरूलाई बन्धक बनाएको घटनापछि यी दुई कट्टर प्रतिद्वन्द्वी मुलुकबीच ४७ वर्षमा भएको यो नै पहिलो आधिकारिक र प्रत्यक्ष वार्ता हो।
इरानले हर्मुजमा नियन्त्रण, विदेशी बैंकमा रोक्का राखिएको सम्पत्ति फुकुवा, युद्ध क्षतिपूर्ति र लेबननसहित क्षेत्रीय युद्धविरामको माग अघि सारेको छ। साथै, हर्मुजबाट गुज्रिने जहाजबाट शुल्क उठाउने प्रस्ताव पनि राखेको छ। तर अमेरिकी पक्षले भने विश्वव्यापी जलयातायात निर्बाध सञ्चालन र इरानको आणविक कार्यक्रम सीमित बनाउने न्यूनतम शर्त अघि सारेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
वार्ताको सुरुवातसँगै अमेरिकी सेनाले हर्मुज क्षेत्रमा बारुदी सुरुङ हटाउने तयारी थालेको जनाएको थियो र आफ्ना दुई युद्धपोत उक्त क्षेत्रमा पुगेको बताएको छ। तर इरानले भने अमेरिकी जहाज प्रवेश गरेको दाबी अस्वीकार गरेको छ। वार्ताको वातावरण पनि उतारचढावपूर्ण रहेको पाकिस्तानी स्रोतले बताएका छन्।
दुई हप्ताका लागि भएको अस्थायी युद्धविरामको भविष्य पनि यही वार्ताको नतिजामा निर्भर रहने देखिएको छ।
वार्तास्थल इस्लामाबादमा कडा सुरक्षा व्यवस्था गरिएको थियो। दुई करोडभन्दा बढी जनसंख्या भएको सहरका सडकमा हजारौं अर्धसैनिक र सेना परिचालन गरिएको थियो।





