फेरि बढ्याे पेट्रोलियम पदार्थको मुल्य, अब पेट्रोल २१९, अरू कति ?
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि गरेको छ। निगमले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो।
निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल प्रतिलिटर १७ रुपैयाँले वृद्धि गरिएको छ भने डिजेल र मट्टीतेलमा २५/२५ रुपैयाँले मूल्य बढाइएको छ। त्यस्तै खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँले बढाइएको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ वृद्धि गरिएको छ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल २१९ रुपैयाँ, डिजेल र मट्टीतेल २०७ रुपैयाँ तथा एलपी ग्यास प्रतिसिलिन्डर २०१० रुपैयाँ पुगेको छ। आन्तरिक हवाई इन्धन २५७ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
निगमका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै गएकाले नेपालमा पनि मूल्य समायोजन गर्नुपरेको हो। सरकारले भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिँदा पनि घाटा कम नभएकाले मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ।
मूल्यवृद्धिपछि पनि निगमलाई पाक्षिक करिब १० अर्ब २१ करोड रुपैयाँ घाटा हुने दाबी गरिएको छ। निगमले उपभोक्तालाई इन्धनको प्रयोगमा मितव्ययिता अपनाउन आग्रह गरेको छ।





