ओली पक्राउ विरूद्व एमालेले विराेधका ४ कार्यक्रम गर्ने

मूलखबर संवाददाता
काठमाडौं, १४ चैत

नेकपा एमालेले पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघर्ष गर्ने निर्णय गरेको छ । उसले त्यसका लागि चार कार्यक्रम तय गरेको छ।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा उपाध्यक्ष राम बहादुर थापा बादलकाे अध्यक्षतामा बसेको सचिवालय बैठकले आन्दोलनको कार्यक्रम तय गरेको हाे । बैठकले  आम जनसमुदाय, नागरिक समाजलाई साथ लिएर दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।

प्रत्येक जिल्लाको सदरमुकाममा शनिबार अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको महासचिव शंकर पाेखरेलले जानकारी दिए।

प्रत्येक जिल्लामा आइतबार चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको उनले बताए।

चौथो कार्यक्रमका रूपमा लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने, नागरिक समाज र आम जनसमुदायसँग पनि सहकार्य गर्ने निर्णय भएको उनले बताए।