आज विश्व पानी दिवस : सबैलाई खानेपानीको न्यायीक पहुँच आवश्यक- राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था तथा आमनागरिकलाई आपसी सहकार्य, समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आह्वान गर्नुभएको छ ।
विश्व पानी दिवस, २०२६ (२२ मार्च) का अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति पौडेलले खानेपानी व्यवस्थापनका हरेक तहमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभएको छ ।
राष्ट्रपति पौडेलले भन्नुभएको छ, “पानी जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधार हो, मानव सभ्यताको विकासदेखि आजसम्म पानीले जीवनयापनका हरेक पक्षलाई दिशानिर्देश गरेको छ । प्राचीन मानव सभ्यताहरू नदी किनारमा विकास भए, वर्तमान अवस्थामा आइपुग्दा जीवनको अस्तित्व जोगाउन प्रकृति र पानीको संरक्षण गर्ने कार्य चुनौतीपूर्ण बन्दै गइरहेको छ ।”
भूमिगत जलस्रोत महत्त्वपूर्ण प्राकृतिक सम्पदा भएको र जसले पारिस्थितिकीय प्रणालीलाई दिगो बनाउने र नदीहरूको बहावलाई व्यवस्थित गर्न, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न र सुरक्षित पिउने पानी परिपूर्ति गर्न मद्दत पुर्याउने राष्ट्रपति पौडेलले उल्लेख गर्नुभएको छ ।
बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएका प्राकृतिक विनास, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोतहरू सुक्दै गइरहेको उहाँको भनाइ छ ।





