कांग्रेस बैठक : सभापति थापाकाे राजिनामा अस्विकार गर्ने प्रस्ताव
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकार गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरेका छन् ।
सभापति थापा अनुपस्थित रहेको शुक्रबारकाे बैठकमा निर्वाचन पराजयपछि थापाले दिएको राजिनामा पत्र वाचन गरिएको थियाे । बैठकमा बोलेका सबै केन्द्रीय सदस्यले राजीनामा अस्वीकार गर्ने मत राखेका छन् ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकमा उपसभापति शर्माले चुनावको प्रारम्भिक समीक्षा र सभापतिको राजीनामा अस्वीकार गर्ने दुईवटा प्रस्ताव बैठकमा पेस गरेका छन् । शुक्रबार भएको बैठकमा पार्टी सभापतिको राजीनामाका विषयमा २४ नेताले धारणा राखेका थिए । नेताहरूको बोल्ने क्रम जारी छ । बैठक आइतबार पुनः बस्ने बताइएको छ ।
निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि त्यसको नैतिक जिम्मेवारी लिँदै थापाले पार्टी सभापतिबाट राजीनामा दिएका थिए । उनले उपसभापति शर्मालाई राजीनामा बुझाएका थिए । बैठकको प्रारम्भमै शर्माले राजीनामा पत्र पढेर सुनाएका थिए । उनले सभापतिको राजीनामा अस्वीकृत गर्नुपर्ने प्रस्ताव पनि बैठकमा पेस गरेका थिए ।





