रास्वपाको योजना समग्र देशको विकास गर्नु होः सभापति लामिछाने

मूलखबर संवाददाता
काठमाडौं, ४ चैत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपाको योजना समग्र देशको विकास गर्नु रहेको बताउनुभएको छ ।

रास्वपाद्वारा ललितपुरमा नवनिर्वाचित सांसदका लागि आयोजित अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रमको समापन समारोहलाई आज सम्बोधन गर्दै उहाँले सांसदले आफ्नो क्षेत्रको विकास गरेर मात्रै देशले न्याय नपाउने भएकाले समग्र मुलुकको विकासमा केन्द्रित हुन सबैलाई निर्देशा दिनुभयो ।

सभापति लामिछानेले जनताले दिएको जिम्मेवारी आफूहरूको काँधमा आइपुगेको भन्दै जिम्मेवार भई जनहितमा काम गर्न सबैलाई आग्रह गर्नुभयो । “संसद्को लोगो लगाएपछि पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्छ, पारदर्शिता राजनीतिको महत्त्वपूर्ण पक्ष हो । सांसद निर्वाचित भएको व्यक्तिको जनतासँग सधैँ असल सम्बन्ध हुनुपर्छ, जनतासँग सुमधुर सम्बन्ध भएको नेतृत्व बन्नुस्, पाँच वर्ष जनताले आत्मसात् गर्नसक्ने, तपाईंको सम्बन्धले हरेक दिन उत्सव मनाउन सक्ने बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।

रास्वपालाई जनाताले कानुन बनाउने जिम्मेवारी दिएका भन्दै सभापति लामिछानेले कानुन निर्माताका रूपमा गहन जिम्मेवारी छन् भन्ने सबैले बुझ्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “बाहना बनाउन नपाउने गरी जनताले जिम्मेवारी दिएका छन्, पुराना राजनीतिक दललाई जनताले ३६ वर्ष कुरेँ, हामीलाई ३६ महिना पनि कुर्दैनन् । हामीले आफूलाई केन्द्रमा राखेर हैन, जनता र देशलाई केन्द्रमा राखेर काम गर्नुपर्छ ।”

सभापति लामिछानेले पार्टी जन्मेदेखि मुद्दा चलेको स्मरण गर्दै आफूहरूले संरक्षण गर्दै यहाँसम्म पुगेकाले आगामी दिनमा यसलाई थप मजबुत बनाउने जिम्मेवारी हाम्रै रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “नागरिकको चेतनामाथि विश्वास गरेर हामी अगाडि बढ्छौँ । विचौलियासँग बसेर चिया खानु अगाडि सहिदको बलिदानलाई सम्झिनु होला ।”