रास्वपाका नवनिर्वाचित सांसदको प्रशिक्षण आज सकिने

मूलखबर संवाददाता
काठमाडौं, ४ चैत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार बनाउने तयारीसँगै नवनिर्वाचित सांसदको प्रशिक्षणमा जुटेको छ भने अपेक्षाकृत सिट जित्न नसकेका पुराना दल नेपाली कांग्रेस, एमाले र नेकपा त्यसको आन्तरिक समीक्षामा लागेका छन्।

सत्ताको बागडोर सम्हाल्न लागेको रास्वापाले संसद्मा सत्तापक्षबाट निर्वाह गर्नुपर्ने भूमिका र संसदीय पद्धतिको विषयमा आफ्ना सांसदलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो। आवासीय दुईदिने प्रशिक्षण बुधबारसम्म चल्नेछ। कांग्रेस र एमाले पंक्ति चुनावमा पराजयको कारण खोज्न आन्तरिक बैठक र भेलामा छन्। उनीहरूले आन्तरिक समीक्षाका लागि मातहतका निकायबाट पनि कारणहरु खोजिगरिहेका छन्।

रास्वपाले आफ्ना सांसदलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, प्रदर्शन गर्नुपर्ने आचरण लगायत विषयमा विज्ञमार्फत प्रशिक्षण तथा अभिमुखीकरण दिएको छ। अभिमुखीकरण उद्घाटन सत्रमा रास्वपाका १८२ सांसदमध्ये रवि लामिछाने र बालेन्द्र शाह उपस्थित भएनन्। लामिछाने पार्टी सभापति र शाह वरिष्ठ नेता हुन्। पार्टीले शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको छ।

उद्घाटन सत्रमा उपसभापति डिपी अर्यालले सभापति लामिछाने र वरिष्ठ नेता शाहप्रतिको आशा र विश्वासकै कारण निर्वाचनबाट ठुलो जनमत प्राप्त भएको बताए। उनले सभापति र वरिष्ठ नेतालाई दोस्रो दिनको सत्रमा उपस्थित गराउने वचन दिएका छन्। प्रशिक्षण स्थलमा दुवै नेताको खोजी भएपछि उनले दोस्रो दिन हुने समापन सत्रमा उपस्थित गराउने बताएका हुन्।