समानुपातिक सांसदकाे नाम टुंग्याउन नेकपा, रास्वपा र कांग्रेसकाे बैठक आज
प्रतिनिधि सभाको समानुपातिकतर्फको सांसदकाे नाम टुंगो लगाउन प्रमुख दलहरू नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज बस्दैछ ।
नेकपाकाे सचिवालय बैठक पेरिसडाँडामा, रास्वपाकाे बनस्थलीमा र कांग्रेस कार्य समितिकाे बैठक सानेपामा बस्ने भएका हुन् ।
रास्वपा उपसभापति डिपि अर्यालका अनुसार सभापति रवि लामिछानेको स्वास्थ्य प्रतिकूल भएपछि शनिबारका लागि आह्वान गरिएको सचिवालय बैठक आइतबार सारिएको हो । रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी हासिल गर्दा समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ ।
नेपाली कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक सूची तय गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्ने छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा सदस्यतर्फ समानुपातिकको सूची आइतबार टुङ्गो लगाउने भएको छ । निर्वाचन आयोगले तीन दिनभित्र समानुपातिकको नाम टुङ्गो लगाउन पत्र पठाएपछि नेकपाले आइतबार बैठक बसेर अन्तिम सूची तय गर्ने भएको हो । नेकपाको प्रत्यक्षतर्फ आठ सिट जितेको छ भने समानुपातिकमा नौ सिट मात्रै पाएको छ ।
नेकपा कार्यालयका सचिव गोविन्द आचार्यले पार्टीबाट समानुपातिक सांसद हुनेको नाम आइतबार बैठक बसेर टुङ्गो लगाउने जानकारी दिनुभयो ।





