लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण, सबै सुरक्षित

मूलखबर संवाददाता
काठमाडौं, १ चैत

राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवाई आक्रमण भएको छ । राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस लेबनानको भ्रमणमा रहेका बेला यो घटना भएको हो ।

राष्ट्रसंघले ‘सेक्युरिटी लेभल–३’ लागू गराएपछि ‘यूएन प्रोटोकल’ अनुसार एक साताअघिबाटै नेपाली सेना बंकरमा बस्न थालेको थियो । सुरक्षा अवस्थाअनुसार राष्ट्रसंघले यो ‘प्रोटोकल’ परिवर्तन गर्छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार शुक्रबार बेलुकी नेपाली शान्ति सैनिक रहेको मैस अल–जाबालमा एक्कासि ‘केही विस्फोट’ भएको हो । ‘दक्षिण लेबनानको बटालियन हेडक्वार्टरको एक घरमा क्षति पुगेको छ, त्यहाँ भएका व्यक्तिगत सामानसमेत नष्ट भएका छन्,’ उनले भने, ‘तर, कुनै मानवीय क्षति भएको छैन, सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् ।’

लेबनानमा ५ सय ४० जना नेपाली सैनिक र १३ जना स्टाफ अधिकृत कार्यरत छन् । तीमध्ये आक्रमण भएको ठाउँमा कति थिए भन्ने स्पष्ट भएको छैन । ‘बटालियन हेडक्वार्टरमा सैनिकहरूको आउजाउ भइरहन्छ, शुक्रबार साँझ सबै बंकरमा हुनुहुन्थ्यो,’ प्रवक्ता बस्नेतले भने । अहिले लेबनानको शान्ति मिसनमा नेपाली सेनाका उपरथी मानबहादुर महरा ‘डेपुटी फोर्स’ कमान्डर छन् ।

राष्ट्रसंघले ‘सेक्युरिटी लेभल–३’ लागू गराएपछि ‘यूएन प्रोटोकल’ अनुसार एक साताअघिबाटै नेपाली सेना बंकरमा बस्न थालेको थियो । सुरक्षा अवस्थाअनुसार राष्ट्रसंघले यो ‘प्रोटोकल’ परिवर्तन गर्छ ।

‘बाहिरको अवस्थाअनुसार यूएन हेडक्वार्टरले सुरक्षा प्रोटोकल १, २ र ३ मा छुट्याउँछ, त्यसमा के गर्न पाइने/नपाइने भन्ने मापदण्ड छन्,’ नेपाली सेनाका अर्का एक उच्च अधिकारीले भने, ‘त्यसअनुसार ३ नम्बरमा हुँदा फौज बाहिर निस्किन पाउँदैन, २ मा हुँदा तोकिएअनुसार निश्चित अवधिका लागि बाहिर हिँड्न मात्र पाइन्छ ।’ दुवै अवस्थामा ‘अपरेसनल’ गतिविधि भने ठप्प रहन्छ ।

‘घटनाबारे अनुसन्धान सुरु गरेका छौं, शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न सबै पक्षले आफ्नो दायित्व पूरा गर्नुपर्छ भन्ने कुरा स्मरण गराउन चाहन्छौं,’ ।

तस्विर : फाइल फाेटाे