धनुषा १ मा विजयी मातृका यादवलाई प्रमाणपत्र देऊ : नेकपा
नेपाली कम्युनिस्ट पार्टीले धनुषा जिल्ला क्षेत्र नं १ मा उमेदवार बनेका मातृकाप्रसाद यादवलाई विजयी हुँदा पनि निर्वाचन आयाेगले प्रमाणपत्र नदिएकाे भन्दै आपत्ति प्रकट गरेको छ ।
आयाेगले रास्वपाका उम्मेदवार श्री किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा उनलेे पाएकाे मतकाे मान्यता नहसने निर्णय गरेको स्मरण गराउँदै नेकपाले मातृकाप्रसाद यादवलाई तत्काल कानुन बमाेजिम निर्वाचित घाेषणा गरि प्रमाणपत्र दिन पनि माग गरेको छ ।
पार्टीका केन्द्रीय कार्यलय सचिव गाेविन्द आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शाषन पालना गर्न र कुनै पनि राजनीतिक दवावमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गर्न आग्रह पनि गरेका हुन् ।
यस्तो छ विज्ञप्ति –
नेपाली कम्युनिष्ट पार्टी
प्रेस वक्तव्य
धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि हाम्रो पार्टीका उम्मेदवार श्री मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उहाँलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ ।
निर्वाचन आयोगको २०८२ फागुन १८ गते सम्पन्न बैठकले निर्वाचन ऐन, २०७४ बमोजिम रास्वपाका उम्मेदवार श्री किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेको अवस्थामा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भई मतगणना समेत सकिँदा पनि विजयी उम्मेदवारलाई प्रमाणपत्र प्रदान नगरिनु गम्भीर सरोकारको विषय हो।
निर्वाचन आयोग स्वयंले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरुको उपस्तिथिमा मतगणनासमेत भई हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरितका कार्य हुनु चिन्ताजनक विषय हो । कसैको कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत देखिँदैन।
हाम्रो पार्टी निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शाषन पालना गर्न र कुनै पनि राजनीतिक दवावमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गर्दछ । साथै न्यायालयले पनि कानून र विधिसम्मतढंगले सही निर्णय गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछ ।
मितिः २०८२ फागुन २५ गते
गोविन्द आचार्य
सचिव, केन्द्रीय कार्यालय
नेपाली कम्युनिष्ट पार्टी




