कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी ओली पराजित
कांग्रेस सभापति गगन थापा र एमाले अध्यक्ष केपी ओली पराजित
हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू पराजित भएका छन्। नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली दुवै आफ्ना निर्वाचन क्षेत्रमा हार व्यहोर्न पुगेका हुन्।
सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका कांग्रेस सभापति थापा रास्वपा उमेदवार अमरेश सिंहसँग कडा प्रतिस्पर्धापछि पराजित भएका हुन्। युवा र लोकप्रिय नेताका रूपमा चिनिएका थापा यसअघि लगातार काठमाडौं ४ बाट निर्वाचित भएका थिए। तर यसपटक मतदाताले परिवर्तनको पक्षमा मत दिँदै उनलाई पराजित गरेका हुन्।
यस्तै, झापा क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि निर्वाचनमा हार व्यहोर्न बाध्य भए। लामो समयदेखि सो क्षेत्रबाट निर्वाचित हुँदै आएका ओली यसपटक भने रास्वपाबाट उमेदवार बनेका काठमाडौं महानगरका पुर्व मेयर बालेन शाहबाट पराजित बनेका हुन् ।
शीर्ष नेताहरूको पराजयले नेपाली राजनीतिक वृत्तमा ठूलो चर्चा सुरु भएको छ। विश्लेषकहरूले यसलाई मतदाताको बदलिँदो राजनीतिक सोच र नयाँ नेतृत्वप्रतिको आकर्षणको संकेतका रूपमा व्याख्या गरेका छन्।
निर्वाचन परिणामले परम्परागत दलहरूलाई नयाँ रणनीति र जनतामाझ विश्वास पुनः स्थापित गर्नुपर्ने चुनौती थपिएको बताइएको छ। शीर्ष नेताहरूको पराजयले आगामी राजनीतिक समीकरण र दलहरूको आन्तरिक बहसमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।




