महिलाको समानुपातिक र अर्थपूर्ण सहभागिता सुनिश्चित गराओैं : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयाेजक तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ११६ ओैं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना दिँदै महिलाको समानुपातिक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नेगरि काम गर्न आवश्यक भएको बताएका छन् ।
उनलेे महिलाहरू समाज परिवर्तनका निर्णायक शक्ति भएको बताएका छन् ।
यस्तो छ उनको सन्देश –
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
महिलाहरू समाज परिवर्तनका निर्णायक शक्ति हुन्। इतिहासका विभिन्न कालखण्डमा महिलाहरूले देखाएको अदम्य साहस, त्याग र बलिदानीपूर्ण संघर्षकै परिणामस्वरूप आजका महत्वपूर्ण अधिकारहरू प्राप्त हुन सकेका हुन्।
तर व्यवहारिक जीवनमा अझै पनि महिलामाथि असमानता र हिंसा पूर्ण रूपमा अन्त्य भएको छैन। उत्पादन र श्रमको सम्मानका सन्दर्भमा विभेद कायम छ। स्वतन्त्रता र अधिकारका नाममा बजारवादी पूँजीवादी संरचनाले महिलामाथि नयाँ–नयाँ रूपका शोषण र असमानता पनि सिर्जना गरिरहेको यथार्थ हाम्रो सामु छ।
त्यसैले सबैखाले शोषण र विभेदको अन्त्य गर्दै महिलालाई साँचो अर्थमा अनुभूतिको तहसम्म समानता स्थापित गर्ने, संविधानमा प्राप्त अधिकारहरूको रक्षा गर्ने तथा जनसंख्याको अनुपातअनुसार राज्यका सबै तह र संरचनामा महिलाको समानुपातिक र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने दिशामा अबका प्रयासहरू अझ दृढताका साथ अघि बढ्नुपर्छ।
समानता, सम्मान र सामाजिक न्यायमा आधारित समाज निर्माणको यस ऐतिहासिक अभियानमा सम्पूर्ण महिलाहरूलाई फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु।
२४ फागुन २०८२
ने.सं.११४६ चिल्लागा पञ्चमी
==============
पुष्पकमल दाहाल ‘प्रचण्ड’
संयोजक
नेपाली कम्युनिष्ट पार्टी




