नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ४१औँ वर्षमा प्रवेश
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड ४१औँ वर्षमा प्रवेश गरेको छ । ४०औँ वार्षिकोत्सव अवसरमा, बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको सफल यात्रामा साथ दिने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिवद्धता जनाए ।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेले डिजिटल रुपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक अग्रसर रहने बताए । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारा लिएको यस बैंकले ग्राहकवर्गको सुविधालाई प्राथमिकता दिँदै नवीनतम बैंकिङ सेवाहरू प्रस्तुत गरिरहने पनि जानकारी दिए ।
बैंकले आफ्नो वार्षिकोत्सवको अवसर पारी विगत आठ वर्षदेखि वित्तीय साक्षारतामा आधारित चित्र पुस्तकहरू प्रकाशन गर्दै आएको छ ।
४०औँ वार्षिकोत्सवमा पनि बंैकले आफ्नो आठौँ संस्करण “३ आर सुन्दर संसार” नामक चित्रकथा पुस्तक सार्वजनिक गरेको छ । बैंकले यो चित्रकथा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोतको संरक्षण र ग्लोबल वार्मिङ जस्ता विषयहरूलाई समेटेर सरल, रमाइलो र ज्ञानबर्द्धक शैलीमा प्रस्तुत गर्ने जमर्को गरेको छ ।
वातावरणमा भइरहेको तीव्र परिवर्तनले हाम्रो स्वास्थ्य, भविष्य र सुन्दर पृथ्वीलाई गम्भीर चुनौती दिइरहेको छ । यही कारण, बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै बालबालिकालाई सचेत बनाउन यो पुस्तक प्रकाशित गरेको हो ।




