चितवन उद्योग संघ इच्छाकामना समितिको आठौँ वार्षिक साधारण सभा सम्पन्न
कुरिनटार/चितवन उद्योग संघ इच्छाकामना समितिको आठौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
चितवन उद्योग संघ इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा इच्छाकामना गाउँपालिकाका प्रवक्ता नर बहादुर नेपाल प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि नेपालले यस क्षेत्रका उद्योगीहरूको हकहितको लागि इच्छाकामना समितिले स्थानीय तहसँग सहकार्य गरेर स्थानीयस्तरमै उदाहरणीय सुन्तला महोत्सव, तालिम लगायतका निकै महत्वपूर्ण कामहरू गर्दै आईरहेको बताउनुभयो । नेपालले अबका दिनहरुमा समेत औद्योगिक प्रर्बद्धनात्मक कार्यमा इच्छाकामना समितिसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका बिशिस्ट अतिथि चितवन उद्योग संघका उपाध्यक्ष तारा बहादुर कार्कीले संघले आफ्ना पालिका समितिहरुसँग सहकार्य गर्दै आफ्ना गतिविधिहरुलाई अगाडि बढाईरहेको बताउनुभयो । त्यस्तै इच्छाकामना समितिका संस्थापक अध्यक्ष अम्बर बहादुर अधिकारीले इच्छाकामना समितिको वर्तमान अवस्थादेखि हालसम्मको वस्तुगत स्थितिको बारेमा जानकारी गराउनु भएको थियो ।
चितवन उद्योग संघ, इच्छाकामना समितिका अध्यक्ष रामहरि कँडेलले स्वागत मन्तव्य सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा चितवन उद्योग संघ, इच्छाकामना समितिका कोषाध्यक्ष सम्झना कुमारी सिलवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ, इच्छाकामना समितिका उपाध्यक्ष गोविन्द जमरकट्टेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।



