चुनावअघि नै पराजित ओली र एमाले

डा. कमल लामिछाने

परिस्थितिलाई हेर्दा लाग्छ, केपी ओली निर्वाचन पहिले नै पराजित भइसकेका छन् । मैले कहिल्यै कुनै नेता मतदान हुनु पहिले नै यति धेरै प्रतिरक्षात्मक देखेको थिइन कम्तीमा २०४८ सालपछिका निर्वाचनहरूमा । २०७४ सालमा त ओलीबिना एमाले तथा माओवादीका चुनावी अभियान अधुरा लाग्थे । हर नेताले ओलीको फोटो राखेर “यस पटकको भोट ओलीलाई, आजलाई होइन भोलीलाई ” भन्दै जनतासमक्ष पुग्थे । बरु आफ्ना बालाई भन्थे कि भन्थेनन् कुन्नि तर ओलीलाई “आई लभ ओली बा” भन्दै नवयुवा उनका वरिपरि झुम्थे र उखानटुक्कासँगै घरघरमा पाइपबाट ग्यास ल्याई कल्पनाको पूर्वपश्चिम रेलको यात्रामा निस्कन्थे ।

तर आज हेर्नुहोस् त उनै केपी ओलीको अवस्था… २, ३ दिन झापामा बसेर चुनाव जित्ने बानी परेका उनी यसपटक झापा छोड्न सकिरहेका छैनन् । घरदैलो गरेका त छन् तर जनताको प्रश्न सामना गर्न सकिरहेका छैनन् । अझ टीठलाग्दो त के भने विगतमा ओलीबिना आफ्नो चुनावी अभियान नै अधुरो ठान्ने एमालेका नेताहरू नै आज हजुर कृपया प्रचारप्रसारकालागि मेरो निर्वाचन क्षेत्रमा नआइदिनुहोस् भन्दै बिन्ती बिसाइरहेका छन् । अनि भोट घट्ने डरले प्रचारप्रसारमा उनको कुनै तस्विर राखेका छैनन् अरे। अवस्था यो हदसम्म बिग्रिएपछि मानौं उनले झापाबाट जितिहाले भनेपनि देशैभर एमाले पराजितहुँदा उनले जितेको मानिने छैन ।

यदि नेपाली कांग्रेस शेरबहादुर देउवाकै नेतृत्वमा यो चुनावमा सहभागी भएको भए उसको अवस्था कस्तो हुने थियो होला ? ठिक त्यस्तै जस्तो अहिले ओली र एमालेको छ। नेपाली कांग्रेसका प्रतिनिधिहरूले यसको आँकलन बेलैमा गरेका कारण उनीहरू नेतृत्व बदल्न सफल भए, जसको प्रभाव चुनावी प्रचारप्रसारमा देखिएको मात्र छैन, कार्यकर्तामा एकखालको उत्साह भरिएको छ। त्यसो भए प्रश्न उठ्छ, केपी ओलीले नेतृत्वबाट बिदा लिएर अरू कसैलाई अगाडि सारेको भए एमालेको यो टीठलाग्दो अवस्थामा केही फरक पर्थ्यो त ? मलाई लाग्छ, पक्कै फरक पर्थ्यो यदि जनतासँग माफी मागेको भए र आफूले गरेको कुशासनको जिम्मेवारी लिएको भए । त्यसैले त ओलीलाई नेतृत्व हस्तान्तरणको अनुरोध गरिएको थियो नि । त्यसलाई सुन्नुको साटो उनले त पार्टीलाई “ओली कम्पनी लिमिटेड” जस्तो गरी चलाउन थाले। । मन लाग्यो विधानमा ७० वर्षे प्रावधान ल्यायो, मन लागेन हटाइदियो। “म भए मात्रै पार्टी रहन्छ” भन्नुको परिणाम हो एमालेको यति बेलाको नियती । अझ अहिले त “मैले जिते देश रहन्छ, मैले हारे देश सकिन्छ” भन्न थालेका छन् , जसको जवाफ जनताले कसरी दिन्छन् हेर्न धेरै कुर्नै पर्दैन । अब जसरी महाराजको जय भन्ने दिन गए भनिन्थ्यो नि, ठिक त्यसरी नै दम्भ र अहंकार दर्शाइरहे, बरसाइरहे र उखानटुक्काको आडमा थर्काएर राज गर्ने सोच पालिरहे कम्युनिस्टका दिन गए भन्ने दिन नआउला भन्न सकिन्न । मलाई यस्तो सोच्न बाध्य गराउने धेरै घटनामध्ये एउटा यहाँ साझा गर्न चाहन्छु ।

गत हप्ता म भान्जाको बिहेका लागि अमेरिकास्थित नर्थ क्यारोलाइना गएको थिएँ। बिहेमा जेन्जी पुस्ताको उल्लेख्य उपस्थिति थियो । बिहेपछिको पार्टी जसै सुरु भयो, सबैजसो नवयुवाले रमाउँदै भन्न थाले, “अबकी बार बालेन सरकार।” २५–३० जनाले त्यसरी नारा लगाएपछि मात्र एकजनाले “आई लभ ओली बा” भन्ने प्रयास जसै गरे, सबै नवयुवाले भद्रतासाथ “दाइ, यस पटक मत फेर्नुपर्छ । हाम्रा दाजुभाइको हत्याहुँदासमेत त्यसको जिम्मेवारी नलिने केपी ओलीलाई कुनै हालतमा सत्तामा आउन दिनुहुँदैन” भन्दै सम्झाउन थाले ।
सत्तामा गएर बालेनले राम्रो गर्लान् या नगर्लान्, यो माइन्डसेट बदल्ने अवसर हो र यति गरियो भने भविष्यमा यिनै दलहरूलाई सुध्रिने अनि जनताप्रति जवाफदेही तथा जिम्मेवार बन्ने अवसर मिल्ने छ भन्ने एउटा परिपक्व बुझाइ उनीहरूमा रहेछ । हुन पनि नत केपी ओलीले युवाको आवश्यकतालाई सम्बोधन हुने गरी नयाँ योजना प्रस्तुत गर्न सके, नत उनीहरूले भनेझैं २३ गतेको घटनामा जिम्मेवारी नै लिए। बरु युवालाई १० जिबी इन्टरनेट डेटा निःशुल्क दिने, २०७४ सालमै म्याद गुज्रेको रेल र ग्यासको सपनामा थपेर फेरि एउटा उडन्ते घोषणा गरे, जसलाई उनीहरूले भ्रष्टाचार र कुशासनबाट ध्यान मोड्ने प्रपञ्चका रूपमा लिन पुगे ।

भनिहालौँ, नवयुवाले उठाएको भ्रष्टाचारमुक्त सुशासन, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको मुख्य माग १० जिबी निःशुल्क डेटा वितरणले सम्बोधन गर्न सक्ने थिएन नै । यी सबै घटना तथा मूलधारे दलका २०४८ देखि २०८२ सालसम्मका घोषणापत्रलाई हेरेपछि यति भन्न करै लाग्छ कि अब दलहरूले नवयुवालाई झुक्याउन सक्दैनन्, जसरी ३० वर्षसम्म तिनका आमाबाबुलाई झुक्याएका थिए । यो युवा समूह अहिले रास्वपा तथा घण्टीमा लागेको त छ, तर आगामी ५ वर्षमा यो दलले पनि निराश बनायो भने यिनीहरूले सजिलै घण्टीलाई पूजाकोठामा सीमित गरिदिन सक्छन्, जसरी अहिले एमालेलाई गरिदिएका छन् ।

( डा. लामिछाने अमेरिकाकाे सुकुवा विश्वविद्यालयका एशाेसियट प्राेफेसर हुन् )