नेकपा पहिलो हुने सम्भावना छ, ८ दिन कस्सिएर काम गराैं : प्रचण्ड
पुर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव आउन बाँकी रहेको ८ दिन कस्सिएर काम गरे नेकपा अगाडि आउने सम्भावना रहेको बताएका छन्।
बुधबार पेरिसडाँडामा पार्टीनिकट बुद्धिजीवीहरूसँगको छलफलमा संयोजक प्रचण्डले अहिलेको स्थितिमा अघिल्लो चुनावभन्दा यसपालिको परिणाम राम्रो आउने बताएका हुन्।
‘स्वच्छ निर्वाचन भयो भने अघिल्लोभन्दा राम्रो परिणाम आउने देखिन्छ। पहिलाको भन्दा राम्रो हुन्छ त हाम्रा कट्टर विरोधीहरू पनि भन्न थालेका छन्,’ उनले भने।
त्यसकारण मतदानको दिनसम्म मिहिनेत गरे परिणाम सकारात्मक आउने उनले बताएका हुन्।
संयोजक प्रचण्डले अहिले मुख्य प्रतिस्पर्धा नेकपा, कांग्रेस, एमाले र रास्वपाबीच हुने देखिएको बताए।
‘को अगाडि हुन्छ, को दोस्रो तेस्रो हुन्छ भन्न सकिने अवस्था छैन भन्ने धेरै मानिसहरूको बुझाइ छ। आगामी केही दिन प्रभावकारी रूपमा परिचालन गर्न सक्यौँ भने अग्रस्थानमा आउने सम्भावना बलियो छ,’ उनले भने।
राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, एकता, लोकतन्त्र र संविधानको संरक्षण नेकपाको स्पष्ट राजनीतिक लाइन भएकाले अहिले पार्टी र नेतामाथि धेरै आक्रमण नभएको पनि उनले बताए।




