सांस्कृतिक पहिचानदेखि समावेशी समाजसम्म: काठमाडौं ८ मा सुमन सायमीको चुनावी यात्रा

मूलखबर संवाददाता
काठमाडौं

सायमीको राजनीतिक यात्रा सामाजिक अभियन्ताको रूपमा सुरु भयो। उनी विशेषगरी सांस्कृतिक सम्पदा संरक्षण, उपत्यकाको गुठी विधेयकविरुद्धको आन्दोलन, र स्थानीय अधिकारका सवालमा सधैं अग्रपंक्तिमा देखिएका छन्।

काठमाडौं — सुमन सायमी नेपाली राजनीतिक र सामाजिक संघर्षमा परिचित नाम हुन्। सांस्कृतिक पहिचान, स्थानीय अधिकार, र समावेशी राज्यका पक्षमा लामो समय सक्रिय रहँदै आएका उनी अहिले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवारका रूपमा काठमाडौं–८ बाट प्रतिनिधि सभा सदस्य पदका लागि चुनावी यात्रा अघि बढाइरहेका छन्।

 

सायमीको राजनीतिक यात्रा सामाजिक अभियन्ताको रूपमा सुरु भयो। उनी विशेषगरी सांस्कृतिक सम्पदा संरक्षण, उपत्यकाको गुठी विधेयकविरुद्धको आन्दोलन, र स्थानीय अधिकारका सवालमा सधैं अग्रपंक्तिमा देखिएका छन्।

उनी भन्छन्, “राजनीति स्टन्ट होइन, वास्तविक समाधान खोज्ने माध्यम हुनुपर्छ।” यही दर्शनका साथ सायमी सडकबाट उठेका मुद्दालाई नीति र प्रक्रिया मार्फत संसदसम्म पुर्‍याउने प्रयासमा लागेका छन्।

अब काठमाडौं–८ बाट उम्मेदवार बनेका सायमीले मुख्य एजेन्डा सांस्कृतिक सम्पदा संरक्षण, साँस्कृतिक भूमि चोरी रोकथाम, र स्थानीय समस्याहरू समाधानमा केन्द्रित राखेका छन्। उनका अभियानका अन्य मुख्य विषय छन्: गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, रोजगार सिर्जना, सुशासन, र संविधानमा उल्लेखित मौलिक अधिकारको व्यवहारिक कार्यान्वयन।

सायमीले आफ्नो चुनावी यात्रा जनताको आवाज संसदसम्म पुर्‍याउने नेतृत्वको रूपमा प्रस्तुत गरेका छन्। उनी भन्छन्, “सडक प्रदर्शन मात्र होइन, राज्य निर्माण नै हाम्रो लक्ष्य हो।”

काठमाडौं–८ निर्वाचनले स्थानीय मुद्दा र समावेशी समाज निर्माणको मार्गप्रशस्त गर्ने आशा गरिएको छ। सायमीले मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो स्थानीय योजनालाई चुनावी सन्देशमा रूपान्तरण गरिरहेका छन्।

यश क्षेत्रमा रास्वपाका तर्फबाट पुर्व मन्त्री विराज भट्ट , नेपाली कांग्रेसबाट सपना राजभण्डारी र एमालेबाट राजेश शाक्यलगायत उमेदवार रहेका छन् ।