नेपालद्वारा ७ विकेटले स्कटल्याण्डमाथि विजय

मूलखबर संवाददाता
काठमाडौं, ५ फागुन

नेपालले स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य १९.२ ओभरमा ३ विकेट गुमाएर विश्वकपमा १२ वर्षपछि विजयी बनेको छ ।

आज साँझ मुम्बईको वानखेडे मैदानमा भएको प्रतिस्पर्धामा  स्कटल्याण्डलाई हराउँदै नेपालले सानदार विजय निकालेकाे हाे ।

दीपेन्द्र सिंह ऐरीको आक्रमक अर्धशतकमा नेपालले आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो चौथो खेलमा स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा पहिलो जित हात पारेको छ ।

मुम्बईको वानखेडे मैदानमा स्कटल्याण्डलाई हराउँदै यस विश्वकपमा सान्त्वना जित निकालेको नेपालले सन् २०१४ पछि टी२० विश्वकपमा पहिलो खेल जितेको हो । सन् २०१४ मा बंगलादेशमा विश्वकपमा डेब्यु गर्दा हङकङ र हफगानिस्तानलाई पराजित गरेको नेपालले त्यसयता ६ खेलमा हार व्यहोरेको थियो ।

बधाई छ नेपाली टिमलाई । बधाई छ युवाहरूलाई ।

खेलमा कसरी हात लाग्याे विजय ? 

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमै ५६ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । यस संस्करणमा नेपालको पावर प्लेमा यो सबैभन्दा उच्च स्कोर हो । यसअघि पहिलो खेलमा इंग्ल्याण्ड विरुद्ध नेपालले पावर प्लेमा ४७/२ रन बनाएको थियो ।

पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफले ९.१ ओभरमा ७४ रनको साझेदारी गरे । तर अर्धशतक नजिक पुगेका भुर्तेललाई माइकल लिस्कले टम ब्रुसबाट क्याचआउट गराएपछि नेपालको रनगतिमा केही अंकुश लागेको थियो ।

आसिफ र कप्तान रोहितले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेपनि लिस्कले लगातार विकेट लिँदै नेपाललाई दबाबमा राखेका थिए ।

अर्का ओपनर आसिफ पनि १२औं ओभरमा लिक्सकै बलमा आउट भए । आसिफले २७ बलमा २ छक्का प्रहार गरी ३३ रन जोडे । लिस्कले आफ् तेस्रो ओभरमा नेपालका कप्तान रोहित पौडेल (१६) लाई माइकल जोन्सबाट क्याचआउट गराउँदै तेस्रो सफलता दिलाए ।

९८-३ को अवस्थाबाट उपकप्तान दीपेन्द्र सिंह ऐरी र पाँचौ नम्बरमा प्रमोट भएका गुल्सन झा मिलेर नेपालको इनिङ्स अघि बढाएका थिए । आक्रमक ब्याटिङ गरेका दीपेन्द्रलाई गुल्सनले राम्रो साथ दिएका थिए ।

दीपेन्द्रले १६औं ओभरमा लिस्कलाई २ छक्का र १ चौका प्रहार गरेपछि नेपालले एकै ओभरमा २० रन जोडेको थियो ।

दीपेन्द्रले अन्तिम ओभरमा २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै जारी विश्वकपमा लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन् । यसअघि उनले वेस्ट इन्डिज विरुद्ध अर्धशतक प्रहार गरेका थिए । टी२० विश्वकपमा लगातार अर्धशतक हान्ने उनी पहिलो नेपाली खेलाडी बने । यस्तै गुल्सन झाले अविजित २४ रन बनाए । १७ बल खेल्दै उनले १ चौका र २ छक्का प्रहार गरे ।