काठमाडौँ ५ मा नेकपाकी उम्मेदवार शर्माकाे सशक्त दावेदारी, के छन् उनका याेजना ?
नेपाली कम्युनिष्ट पार्टी काठमाडौँ क्षेत्र नं. ५ कि उम्मेदवार कल्पना शर्माले स्थानीय आवश्यकतामा आधारित प्रतिवद्धता सार्वजनिक गरेसँगै उनीप्रतिको जनआकर्षण बढ्दै गइरहेको छ ।
काठमाडौं ५ मा पहिलोपटक संघिय सांसदकाे उमेदवार बनेकी शर्मा नेकपा एमालेका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष केपी वलीसँग प्रत्याशी अध्यक्ष एवम् पुर्व उपप्रधानमन्त्री रहिसकेका इश्वर पाेखरेल र नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री प्रदिप पाैडेलसँग प्रतिस्पर्धा गर्दैछिन् ।

यस क्षेत्रबाट पटक–पटक निर्वाचित सांसदहरु पार्टी र राज्यसत्ताको केन्द्रमा रहँदै आएपनि पक्की सडक, स्वच्छ पिउने पानी, विद्युतीकरण, ढल निकास जस्ता विकास निर्माणका काममा जनताले राखेका अपेक्षा पुरा हुन सकेको छैन । राजनीतिको अलावा कानुनी र सामाजिक आन्दोलनमा समेत स्थापित शर्मालाई युवा उम्मेदवारको रुपमा नेकपाले काठमाडौँ ५ मा उम्मेदवार बनाएसँगै तारा चुनाव चिन्हप्रतिको आकर्षण बढेको हो । शर्माले विधायकी भुमिकाका साथासाथै स्थानीय आवश्यकतामा आधारित विकास निर्माणको काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।
सक्षम, योग्य र नयाँ युवा उम्मेदवारको रुपमा शर्मा उदाएसँगै काठमाडौँ ५ मा विजयको झण्डा फहराउने अपेक्षा नेकपाले गरेको छ ।
के छ उनकाे पृष्ठभूमि ?
४ असाढ २०३४ मा जन्मिएकी शर्मा कानुन व्यवसायमा समेत आवद्ध छिन् । उनले उनले एलएलएम/एमपिए सम्मको शैक्षिक योग्यता हासिल गरेकी छन् । स्कुले जीवन देखि नै बामपन्थी आन्दोलनमा सक्रिय रहेकी उनी हाल नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेकी छन् । २०७४ सालको स्थानीय तहको चुनावमा उनी टोखा नगरपालिकाको मेयर पदको प्रतिस्पर्धि समेत बनेकी थिइन् । काठमाडौँ क्षेत्र नं. ५ का विकास निर्माणको काममा विगत देखि नै उनले योगदान दिदैँ आएकी छिन् । सामाजिक अभियान, कानुन व्यवसायको क्षेत्रमा दर्जनौँ असहायहरूलाई निःशुल्क सेवा प्रदान गर्दै आएकी उनले भ्रष्टाचारको विरोध र सुशासनका लागि सशक्त आवाज उठाउँदै आएकी छिन् ।
यस्तो छ विधायिकी कार्यमा उनले देखेको प्राथमिकता
शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, निर्वाचित सांसद मन्त्री बन्न नपाउने व्यवस्थासहित जनचाहना अनुसार वर्तमान संविधानमा समयसापेक्ष संशोधनको पक्षमा दृढतापूर्वक उभिने बताएकी छिन् । कानूनहरूको समय सापेक्ष संशोधन, नयाँ कानून निर्माण तथा चुस्त, पारदर्शी र प्रविधिमैत्री कानूनी कार्यविधि तर्जुमा र कार्यान्वयन उनको प्राथमिकतामा परेको छ । कृषि, ऊर्जा, पर्यटन र वन राष्ट्रिय अर्थतन्त्रको आधार भएको भन्दै उनले आधुनिक कृषि र कृषि उत्पादनको सहज बजारिकरण, ऊर्जा व्यापार, बन्द भएका उद्योगहरूको पुनः संचालन र नयाँ उद्योग स्थापनाको लागि सहजीकरण गर्ने उनको प्राथमिकता छ । स्थानीय कच्चा पदार्थ र श्रममा आधारित साना उद्योगलाई प्रोत्साहन, विदेशमा सिप सिकेर आएका व्यक्तिहरू लक्षित उद्योगमैत्री वातावरण र प्रविधिमैत्री सेवा र जवाफदेही राष्ट्रसेवक आफ्नो प्रतिवद्धता रहेको उनले बताइन् । एउटै पदमा २ कार्यकालभन्दा बढी रहन नपाउने र कुनै पनि पदमा ३ पटकभन्दा बढी प्रतिस्पर्धा समेत गर्न नपाउने गरी पुस्तान्तरण सम्बन्धी स्पष्ट कानूनी व्यवस्था गर्न जोड दिने उनको एजेन्डा छ ।
त्यस्तै, समुदायको सामूहिकतामा योजना चयन र समुदायकै अनुगमनमा कार्यान्वयन, प्रतिभा पलायनको न्यूनिकरण र युवा स्वदेश फिर्ती अभियान, जेनजी आन्दोलनले औंल्याएका मुद्दाहरूको दिर्घकालिन समाधान गरी विधि र प्रविधिमैत्री राज्य सञ्चालन आफ्नो एजेन्डा रहेको उनले बताइन् ।
स्थानीय मुद्दाहरुमा उनको प्रतिबद्धता
शर्माले स्थानीय उत्पादनको प्रयोगमा प्रोत्साहन गरिने उल्लेख गरेकि छिन् । चुस्त, दुरुस्त र प्रविधिमैत्री सरकारी सेवा, सांस्कृतिक सम्पदा र ऐतिहासिक संस्कृतिको संरक्षण र विकास, क्षेत्र नं. ५ लाई लाई शिक्षा र स्वास्थ्य उपचारको हबको रूपमा विकास गर्ने र समदाय लक्षित खेलकुुद व्यायाम र योग समेतका कार्यक्रमहरूको सञ्चालन गर्ने प्रतिवद्धता गरेकी छिन् । त्यस्तै, पक्की सडक, स्वच्छ पिउने पानी, विद्युतीकरण, ढल निकास जस्ता विकास निर्माणका कार्यलाई पूर्णता दिई दूरसंचार र इन्टरनेट सेवामा सर्वसुलभता गराउने घोषणा उनको छ । स्थानीय मठमन्दिर, पाटीपौवा, धाराहरूको संरक्षण, जिर्णोद्वार र नयाँ निर्माण, सरकारी जग्गाहरूको संरक्षण र सार्वजनिक उपयोग, आदिवासी, जनजाति, दलित समुदाय लक्षित कार्यक्रम सञ्चालन, निःशुल्क आधारभूत स्वास्थ्य सेवा र व्यवसायिक र प्राविधिक शिक्षा लगायतमा जोड दिइएको छ ।
शर्माले राज्यका सबै निकायमा आर्थिक पारदर्शिता र जवाफदेहिता, न्यायमा सहज पहुँच र सबैखाले हिंसाको अन्त्य, सुकुम्बासी, नदी किनार तथा सडक मापदण्ड पीडितका समस्याको दीर्घकालिन समाधान, श्रमको सम्मान र व्यवसायको संरक्षण, स्थानीय रोजगारीको सृजना र स्थानीय श्रमलाई प्राथमिकता, क्षेत्र नं. ५ भित्रका अस्पताल, विद्यालय लगायतका संस्थाहरूमा स्थानीय बासिन्दाहरूलाई सहुलियतको व्यवस्था गर्ने प्रतिबद्धता गरेकी छिन् ।
त्यसैगरी, स्थानीय कच्चा पदार्थ र श्रममा आधारित साना उद्योगलाई प्रोत्साहन र विदेशमा सिप सिकेर आएका व्यक्तिहरू लक्षित उद्योगमैत्री वातावरण बनाउने कुरामा पनि उनले जोड दिएकी छिन् ।




