चितवन ३ काे परिणाम भन्दै सार्वजनिक, उमेदवार दाहालले पनि गरिन् आपत्ति
चितवन ३ काे निर्वाचन परिणाम रास्वपा उमेदवारकाे पक्षमा आउने भनी मिडियामा समाचार आएपछि समाचार एकतर्फी र आचारसंहिता विपरित भनी चाैतर्फी आलोचना भएको छ ।
नेकपाबाट उमेदवार बनेकी रेणु दाहालले पनि चुनावै नभई नतिजा सार्वजनिक भएकोमा आपत्ति जनाएको छन् । दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत आपत्ति जनाएकी छन् ।
‘मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमबाट प्रसारित भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ दाहालले लेखेकी छन्, ‘यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन/प्रसारण नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्छु ।’
यस्तो छ उनको प्रतिक्रिया –
यतिबेला म चितवन क्षेत्र नं. ३ मा प्रतिनिधिसभाको उम्मेदवारका हैसियतले घरदैलो अभियानमा व्यस्त छु। यस क्रममा आम जनसमुदायबाट प्राप्त माया, विश्वास र समर्थनले मलाई अत्यन्त उत्साहित बनाएको छ।
भरतपुर महानगरपालिका मा ९ वर्षे कार्यकाल सम्पन्न गर्दै गर्दा, मेरो कामप्रतिको प्रतिबद्धता र इमान्दारिताकै कारण आज यस्तो अपार स्नेह पाउन सकेको अनुभूति गरेको छु।
निर्वाचनमा सहभागी भइसकेपछि जीत र हार दुवैलाई सहर्ष स्वीकार गर्नुपर्छ भन्नेमा म स्पष्ट छु। तथापि, मतदाताको विश्वास र साथका आधारमा फराकिलो मतान्तरले विजयी गराउनुहुनेछ भन्ने उच्च मनोबल पनि राखेको छु।
यसैबीच, मतदातालाई प्रभावित पार्ने उद्देश्यले मत सर्वेक्षणको नाममा निर्वाचन आचारसंहिताविपरीत केही सञ्चारमाध्यमबाट प्रसारित भ्रामक समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यस्ता गतिविधिले समग्र निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्ने हुँदा कपोलकल्पित र भ्रमपूर्ण सामग्री प्रकाशन/प्रसारण नगर्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु।
लोकतान्त्रिक मूल्य र मर्यादाको सम्मान गर्दै निष्पक्ष र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्दछु।




